नेपालगञ्ज । हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको जहाज आज बिहान नेपालगन्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ।
बिहान करिब ७ बजेतिर चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगन्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिनुभयो ।
तर जहाजमा सवार सबै यात्रु र चालकदलका सदस्य सकुशल छन्।
उहाँका अनुसार जहाज धावनमार्गमा गुडिरहेका बेला चालकदललाई जहाजको चक्कामा समस्या आएजस्तो महसुस भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए। जहाज रोकेर हेर्दा घटनास्थलमा तीन बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए।
जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट हटाइएको छ। बँदेलको मासु धावनमार्गभरि छरिएका कारण नेपालगन्ज विमानस्थलको उडान केहीबेर बन्द गरिएको विमानस्थलका प्रमुख झाले बताउनुभयो ।
विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल, स्याललगायत जंगली जनावर जहाजसँग ठोक्किने गरेका छन् ।





