काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको लामो चर्चाबीच बुधबार (मंसिर ४ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकममा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद दिँदै भोलि मन्त्रिमण्डल पुनर्गठन हुने जानकारी दिएका हुन् ।
त्यसक्रममा ओलीले मन्त्रीहरुलाई कुनै सार्वजनिक कार्यक्रम नराख्न सुझावसमेत दिएका थिए । उनले मन्त्रीहरुलाई असक्षम भएका कारण हटाउन खोजेको नभइ अन्य ‘सक्षम’ साथीहरुलाई मौका दिन पुनर्गठन गर्न लागेको प्रष्टिकरण दिएका बैठकमा सहभागी एक मन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो चाहना अनुसार मन्त्रीहरुले काम गर्न नसकेपछि पुनर्गठन गर्ने तयारी गरिरहेका थिए । केही दिन अघि मात्रै उनले आफ्नो सचिवालयमा ब्यापक हेरफेर गरेका छन् ।
ओलीले सबै मन्त्रीहरुलाई हटाउने नभई केही मन्त्रीलाई हटाएर नयाँ ल्याउने गृहकार्य गरेको स्रोतको भनाई छ ।
तर, मन्त्रिमण्डलबाट को को हट्छन् र को को थपिन्छन् भन्ने स्पष्ट भएको छैन ।

