काठमाडौं । अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल बोकेर विराटनगर आइरहेको नेपाल आयल निगमको ट्यांकर सिरहाको लहानबाट ‘गायब’ भएको छ । ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ बजे गायब भएको प्रहरीले जनाएको छ ।
गायब भएको ट्यांकरका चालक र सहचालकका अनुसार सो ट्यांकर भारतीय समूहले अपहरण गरी भारततर्फ लगेको छ । चालक रामदेव यादव र सहचालक उमेश यादवलाई भने प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिहेको जनाएको छ ।
‘अपहरित’ ट्यांकरको खोजी भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी अपिल बोहराले हराएको ट्यांकरको खोजी भइरहेको बताए ।
उनले ट्यांकरका चालक र सहचालकले नै मिलेमतोमा ट्यांकर अपहरण गराएको आशंकामा उनीहरुमाथि छानविन सुरु गरिएको पनि जानकारी दिए । प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्ने भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका गरिएको छ ।
प्रहरीका अनुसार चालक र सहचालकले भने आफूहरुलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेको दाबी गरेका छन् । उनीहरुका अनुसार ६ देखि ८ जनाको समूहमा आएका अपहरणकारीले चालक र सहचालकलाई आँखामा पट्टी बाँधी सो स्थानबाट सुमोमा राखेर बर्दिबास र लालबन्दीको बीचको जंगलमा छोडेका थिए। ट्यांकर भने भारततर्फ लगेका छन् ।
यता, नेपाल आयल निगमले ‘अपहरण’ मा परेका भनिएको ट्यांकरको खोजी गर्न एक समिति बनाएको छ । निगमले मंगलबार बिज्ञप्ति प्रकासित गरी प्रादेशिक प्रमुख इन्जिनियर अशोक शाहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

