काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको जनाएको छ ।
अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई गरी करिब ५२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो ।
यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । यो ५ देखि सय रुपैयाँसम्मको एक/एक वटा बन्डल हो ।
बैंक तथा वित्तीय संस्थालाई भने २ करोडदेखि ५ करोड रुपैयाँसम्मको सटही सुविधा दिएको थियो । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि बैंक तथा वित्तीय संस्था र असोज ४ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको थियो ।
दसैंमा धेरै नयाँ नोट बाहिरिएपछि चलनचल्तीमा रहेको मुद्रा पनि बढेर ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।
सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन ।





