दैलेख । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरत शाहीले भारत नेपालको असल छिमेकी हुनै नसक्ने बताउनुभएको छ । आइतबार दैलेख सदरमुकाममा आयोजित बिरोध सभामा बोल्दै नेता शाहीले नेपाली भूमि लिपुलेकमा चीनसँग चोरी सम्झौता गर्ने भारत कसरी असल छिमेकी हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष भरत बहादुर शाहीले २०७२ साल वैशाख १२ को महाभूकम्पको पीडामा सारा देश, छट्पटिँदै बिनासकारी भुकम्पको सामना गरिरहेको अबस्थाको मौका छोपि भारतले २०७२ जेठ १ गते लिपुलेकलाई दुइदेशीय व्यापारीक नाकाको रूपमा चीनसँग चोरी सम्झौता गरेको बताउनुभयो ।
उहाँले साम्राज्यवादी भारतको नीति नेपाललाई सिक्किम बनाउने रहेको भन्दै भारतले आफ्नो नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा सहितको भूमि राखेर नक्सा सार्वजनिक गरेर नेपाललाई दिएको चुनौतिलाई अवशरको रूपमा लिनु पर्ने र अब नेपालको सम्पुर्ण अतिक्रमित ६० हजार हेक्टर भूमि फिर्ता लिने महत्वपुर्ण मौका आएको बताउनु भयो ।
कार्यक्रममा नेकपा (मसाल)दैलेखका प्रवक्ता सुरत रावत, राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष अमर नेपालीले सम्बोधन गर्नु भएको थियो भने, अखिल (छैठौं) का पूव केन्द्रीय उपाध्यक्ष पुर्ण बहादुर शाहीले सञ्चालन गर्नु भएको थियो ।