कपिलवस्तु । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा रहेको श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभा शुक्रबार स्वर्गद्वारी आश्रममा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष केरसिंह अदैको अध्यक्षतामा सम्पन्न भएको सभाको प्रमुख अथिति शिवराज नगरपालिकाका कृषि विकास अधिकृत ताराचन्द अधिकारीले उद्घाटन गर्नुभएको थियो । उहाँले उद्घाटन गर्दै शिवराज नगरपालिकामा २८ वटा कृषि सहकारी संस्था मध्य यो सहकारी संस्था राम्रो मध्यमा पर्ने बताउनुभयो ।
यस संस्थासँग सहकार्य गरेर शिवराज ३ मा तरकारी संकलन केन्द्र सञ्चालन गर्न लागेको र बजेट विनियोजन भई सकेको भन्दै अब किसानले उत्पादनको आधारमा अनुदान पाउने भएका छन् ।
यस्तै, शिवराज नगरपालिका पशु विकास अधिकृत धनेश्वर खनालले कृषकको चाहना बमोजिम तालिम दिइने बताउनु भयो । शिवराज नगरपालिका – ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले अनुदान बारे प्रष्ट पार्नुभएको थियो ।
संस्थाका अध्यक्ष केरसिंह अदैले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाको आय व्याय संस्थाकी व्यवस्थापक रजनी अदैले गर्नु भएको थियो ।
शेयर सदस्य थप गर्ने, ऋण लगानी बढाउने, तरकारी संकलन केन्द्र सञ्चालन गर्ने, सामूहिक खेतीकोलागि प्रयास गर्ने, तरकारी उत्पादक कृषक र पशुपालनमा संलग्न कृषकलाई तालिमको व्यवस्था गर्ने लगायत अगामी कार्यक्रम पनि बनाएको सस्थाका अध्यक्ष अदैले जानकारी दिनुभयो ।
कार्यक्रममा लेखा संयोजक श्यामबहादुर चौहान, सल्लाहकार संयोजक चेटनारायण खनाल, कृषक समूहबाट श्याम मोहन केवात्त, समाज सेवी दिलबहादुर विक, छन्द बहादुर केसी, पत्रकार नवराज पौडेल, माधव बेल्बासे र रामअवतार चौधरीको पनि आतिथ्यता रहेको थियो ।कार्यक्रम प्रकाश विकको सञ्चालन तथा बेलौता विकले स्वागत गर्नुभएको थियो ।