काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नियमित रूपमा प्रतिनिधि सभाको बैठक अवरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनु भएको छ । बैठक दिउँसो साढे २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
सर्वदलीय बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई बोलाइएको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनको सहभागिता रहने बताइएको छ ।
यही २३ गते सुरु संसद् बैठक एमालेले निरन्तर अवरोध गरिरहेको छ। यसैमा सहमति जुटाउने प्रयासस्वरूप सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनु भएको हो ।
आज हुने सर्वदलीय बैठकमा संसदमा अवरोधसहित अन्य महत्त्वपूर्ण समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाले बैठकमा संसद सूचारु गर्न सबैसँग आग्रह गर्ने जनाएको छ । उपाध्यक्ष पौडेलले जनताका समस्याबारे सांसदहरूले धारणा राख्ने थलो लामो समयदेखि अवरोध भइरहेको भन्दै अवरोध खुलाउन सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
‘जनप्रतिनिधिले आफ्नो क्षेत्रका जनताका समस्या राख्ने थलो संसद यसरी लामो समयसम्म अवरोध हुनुहुँदैन । यो विषयमा सबै दल जिम्मेवार बन्नुपर्छ’ पौडेलले युुगदर्शनसँग भन्नुभयो, ‘सभामुखले पनि विधि र नियमको आधारमा रहेर आफ्नो अधिकार प्रयोग गर्नुपर्छ । छलफलको माध्यमबाट संसदको अवरोध हटाउन पहल हुनु सकारात्मक हो ।’