दुर्गा खरेल ##
१. कार्ल मार्क्स (सन् १८१८–८३) ले फ्रेडरिक एङ्गेल्स (सन् १८२०–९५) को सहयोगमा माक्र्सवादको प्रतिपादन गरे । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका, वैज्ञानिक समाजवाद र साम्यवाद यसका आधारभूत मान्यता हुन् । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान र सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
लेनिनको भनाइअनुसार “मार्क्सका विचार र उनका शिक्षाको व्यवस्थित शृङ्खला माक्र्सवाद हो । मार्क्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन सङ्घटक अङ्गको संश्लेषण भई बनेको हो ।” यसरी माक्र्सका सम्पूर्ण शिक्षाको शृङ्खलाबद्ध रूप नै मार्क्सवाद हो । माओका अनुसार “माक्र्सवाद ज्ञानका अनेक शाखाबाट बनेको छ । मार्क्सवाद दर्शन, मार्क्सवाद अर्थशास्त्र र मार्क्सवाद समाजवाद अर्थात् वर्गसङ्घर्षको सिद्धान्त । संसारका तीन अधिकतम विकसित ती मुख्य विचारधाराहरू (१) शास्त्रीय जर्मन दर्शन, (२) शास्त्रीय अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र (३) फ्रान्सेली समाजवादका शिक्षाहरूलाई माक्र्सले अगाडि बढाउनुभएको थियो ।
क. जर्मन शास्त्रीय दर्शनको सबैभन्दा महत्त्व पूर्ण देन द्वन्द्ववाद हो । हेगेलको द्वन्द्ववादले प्रकृति र समाजका सम्पूर्ण चिज र परिघटनालाई विकसित र प्रगतिशील रूपमा हेर्छ । हरेक चिज गतिशील छन्† हरेक चिजको विकास हुन्छ र हरेक चिज विकसित र परिवर्तित हुन्छन् । उनको भनाइअनुसार द्वन्द्ववादी भए पनि सम्पूर्ण विकास प्रकृयाको मूल आधार र प्रेरक शक्ति विश्वआत्मालाई ठान्ने गरेको हुनाले उनी आदर्शवादबाट मुक्त थिएनन् । फायरवाखले पदार्थलाई प्रथम मानेको भए पनि हेगेलको द्वन्द्ववादलाई भौतिकवादी ढङ्गबाट आत्मसात् गर्न सकेका थिएनन् । माक्र्सवादको प्रतिपादनका लागि दुवैले बाटो सुगम बनाइदिए । हेगेलले द्वन्द्ववादका तीन आधारभूत नियमको विशद् व्याख्या गरेका थिए ।
२. हेगेलको द्वन्द्ववादका तीन नियम
क. विरोधी पक्षहरूको एकता तथा सङ्घर्षको नियम
ख. परिमाणबाट गुणमा र गुणबाट परिमाणमा रूपान्तरणको नियम
ग. निषेधको निषेध
ख. शास्त्रीय पुँजीवाद राजनीतिक अर्थशास्त्रका प्रमुख एडम स्मिथ र डेभिड रिकार्डाे थिए । तिनीहरूको विज्ञानले समाजको आर्थिक वर्गीय बनोट पत्ता लगाउने बाटो तयार गर्यो । शास्त्रीय राजनीतिक अर्थशास्त्रको सबैभन्दा ठुलो उपलब्धि मूल्य र श्रमशक्तिको प्रतिपादन र विशद् व्याख्या हो । उक्त सिद्धान्तअनुसार वस्तुको उत्पादनमा लागेको सामाजिक रूपले आवश्यक श्रम परिमाणले त्यसको मूल्यलाई निर्धारण गर्दछ । कुनै वस्तुको मूल्य बजारमा माग र आपूर्तिद्वारा वा सोको परमाण वा वस्तुको उपयोगिताद्वारा मात्र निर्धारण भएको हुँदैन । त्यो प्रस्थापनाअनुसार मूल्यलाई श्रममा परिणत गरिएको छ । पुँजीवादी व्यवस्थालाई ऐतिहासिक विकासक्रममा हेर्न नसक्नु पुँजीवादी अर्थशास्त्र र अर्थशास्त्रीको आधारभूत कमजोरी थियो । पुँजीवादमा अन्तरनिहित अन्तरविरोधलाई बुझ्न नसक्नु त्रुटि र गल्ती हुँदाहुँदै पनि पुँजीवादी राजनीतिक अर्थशास्त्र अठाह्रौँ र उन्नाइसौँ शताब्दीको एक महान् उपलब्धि थियो ।
ग. सेन्ट साइमन, चाल्र्स फुयुरे तथा रबर्ट ओवेन तीनजना उन्नाइसौँ शताब्दीको उच्च काल्पनिक समाजवादीले निजी सम्पत्तिको विरोध गरेर व्यक्तिगत सम्पत्तिमा आधारित व्यवस्थामा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिन्थे । त्यसका लागि कम्युनको धारणासमेत अगाडि सारेका थिए । उनीहरू पुँजीवादी व्यवस्थाका कट्टर विरोधी भए पनि सबैको मेलमिलापमाथि विश्वास गर्दथे । उनीहरूले आमूल रूपान्तरणका लागि वर्गसङ्घर्ष राजनीतिक सङ्घर्ष राजनीतिक सत्तामाथि कब्जा, पुँजीवादी शसानको तख्ता पल्टाउने आदि कुरा अस्वीकार गर्दथे । काल्पनिक समाजवादीको माक्र्सवादको प्रतिपादनमा महत्त्वपूर्ण भूमिका रहेको छ ।
३. माक्र्सवादका तीन सङ्घटक अङ्गहरू
क. द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद
ख. माक्र्सको आर्थिक सिद्धान्त
ग. वैज्ञानिक समाजवाद
क. हेगेलको आदर्शवादी द्वन्द्ववाद र फायरबाखको यान्त्रिक भौतिकवाद जुन रूपमा विकसित भयो, त्यसको श्रेय माक्र्सलाई जान्छ । फायरबाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादलाई रूपान्तरण गरेर द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त माक्र्सले प्रतिपादन गरे । माक्र्सको मौतिक सिद्धान्त ऐतिहासिक भौतिकवाद हो, जुन द्वन्द्वात्मक भौतिकवादको मानव इतिहास र मानव समाजमा प्रयोग हो । माक्र्सवादी सिद्धान्तले वर्गसङ्घर्षको सिद्धान्तलाई अगाडि सारेको छ । माक्र्सवादी दर्शनको प्रधान पक्ष समाजको व्याख्या गर्ने मात्र नभएर त्यसलाई बदल्ने पनि हो ।
ख. माक्र्सको आर्थिक सिद्धान्त । अतिरिक्त मूल्यको सिद्धान्त पनि कार्ल माक्र्सको मौलिक आविष्कार हो । यसैको माध्यमद्वारा माक्र्सले स्पष्ट पारिदिएको पुँजीवादले सर्वहारा वर्गको रूपमा आफ्नो चिहान खन्ने वर्गको सिर्जना गरेको छ । सर्वहारा वर्गले मानवजातिलाई शोषणबाट मुक्त पार्दछ । वैज्ञानिक समाजवादको स्थापनाका लागि माक्र्सले सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको स्थापनामा जोड दिएका छन् । त्यसका लागि माक्र्सले पार्टीनिर्माणको आवश्यकतामाथि जोडबल लगाएका छन् ।
ग. वैज्ञानिक समाजवाद । आर्थिक शक्तिका कारणले विजयी बुर्जुवा वर्ग समाजवादी व्यवस्था विकसित भइरहेको अवस्थामा छ । परस्पर विरोधी वर्गबिचको सङ्घर्षका कारणले समाजवादी व्यवस्था र सर्वहरा वर्गले एकाधिकारी पुँजीपति वर्गको र साम्राज्यवादी व्यवस्था विरुद्ध आफ्नो विजयको झन्डा फहराउने छ ।
नयाँ सामाजिक व्यवस्थाको उत्पत्तिको कारण नयाँ उत्पादक शक्तिको विकास हो । उत्पादकको शक्तिको रूपमा विज्ञान प्रविधिका विकास हो । नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिमा आधारित समाजवादी व्यवस्थाको निर्माण गर्ने अहिलेको ऐतिहासिक आवश्यकता हो । पुँजीवादको पराजय र समाजवादको विजय सुनिश्चित भई मानव समाज वैज्ञानिक युगमा प्रवेश गर्ने छ । नयाँ उत्पादक शक्तिलाई नयाँ
उत्पादन सम्बन्धमा सङ्गठित गरेर मात्र नयाँ सामाजिक व्यवस्था आरम्भ हुन्छ । त्यसैले सर्वहारा वर्गलाई र विज्ञान–प्रविधिलाई समाजवादी उत्पादन सम्बन्धमा सङ्गठित गर्ने कार्यभार सर्वहारा वर्गको अग्रिम दस्ता कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्टको हो ।
समाजवादी व्यवस्था सामूहिक अर्थतन्त्र भएको व्यवस्था हो र पुँजीवादी व्यवस्था नाफा बढी कमाउने व्यक्तिगत अर्थतन्त्र भएको व्यवस्था हो । समाजवादी व्यवस्थाको इतिहास र भविष्य दुवै छ । शोषणरहित समाजको लागि समाजवादी व्यव्सथा र वर्गसङ्घर्ष अनिवार्य छ ।
४. लेनिनवाद
स्टालिनका अनुसार “लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । सामान्य तथा सर्वहारा क्रान्तिको सिद्धान्त र कार्यनीति तथा विशेषतः सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।” माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा विकास प्रवेश गरेको हुनु, उत्पादक शक्ति, सर्वहरा आन्दोलन तथा ज्ञानविज्ञानको विभिन्न क्षेत्रमा थप प्रगति हुँदै जानु र प्रगतिअनुसार माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने आवश्यकताको बिचबाट लेनिनवादको जन्म भएको हो ।
माओले लेनिनवादको सिद्धान्तमाथि टेकेर माक्र्सवादको विकास गरेको बताएका छन् । विश्वदृष्टिकोणमा द्वन्द्ववाद र भौतिकवाद, द्वन्द्वात्मक क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा वर्गसङ्घर्ष सर्वहारा वर्गको अधिनायकत्व र सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नको साथै समाजवादको निर्माणमा लेनिनले जोड दिएका छन् । माक्र्सवादी ज्ञानभण्डारमा लेनिनले थपेको नयाँ उचाइ विश्वदृष्टिकोण र सर्वहारा वर्गको पार्टीको अभावमा सर्वहारा वर्गको अधिनायकत्व तथा साम्यवादी समाजको निर्माण असम्भव हुने भएको कुरा पनि हो । सन् १९२४ मा लेनिनको मृत्युपछि मात्र लेनिनवाद शब्दावलीको प्रयोग भएको हो । आज लेनिनवादको जुन रूप हाम्राअगाडि आएको छ, त्यसको मुख्य व्याख्यामा स्टालिनको योगदान रहेको छ । सन् १९३४ मा स्टालिनद्वारा लेखिएको “लेनिनवादका आधार” र “लेनिनवादका समस्या” नामका दुईओटा पुस्तकमा लेनिनवादबारे सुसङ्गत व्याख्या गरिएको छ ।
५. संशोधनवाद
क. माक्र्सवादमा संशोधन गरेर त्यसका मूलभूत प्रस्तावनालाई परित्याग गरेर बुर्जुवावर्गको सेवामा लगाउनका लागि कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएका विजातीय तत्त्वदेखि विभिन्न प्रकारले प्रयत्न हुँदै आएका छन् । माक्र्सवादको संशोधन, अपव्याख्या र पुर्नविचार गर्नु संशोधनवाद हो । माक्र्सवाद पुरानो भइसकेको जडसूत्रवादी सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्थापना पेस गर्ने पहिले व्यक्ति बर्नस्टिन हुन् ।
ख. बर्नस्टिनले माक्र्सको विचारधारामा परिवर्तन र संशोधन गर्दै संशोधनलाई सबैभन्दा सुसङ्गठित अभिव्यक्ति दिएका थिए । माक्र्सवादको विकासका लागि माक्र्स–एङ्गेल्सले दार्शनिक आदर्शवादका अनुयायी उग्रपन्थी युवा हेगेलवादीसँग सङ्घर्ष गर्नुप¥यो । त्यसैगरी प्रुधोँवादका विरुद्ध र बाकुनिनवादका विरुद्ध पनि सङ्घर्ष गर्नुपर्यो ।
ग. आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः खु्रस्चेभले गरेका थिए । उनले सर्वहारा वर्गको पार्टीलाई सम्पूर्ण जनताको पार्टी सर्वहारा वर्गको राज्यलाई सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त रुसी कम्युनिस्ट पार्टीको १९५६ मा भएको बिसौँ पार्टी महाधिवेशनमा प्रस्तुत गरेका थिए । युरो कम्युनिज्मले ख्रुस्चेभभन्दा अगाडि बढेर संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मानेको छ । नेपालको सन्दर्भमा बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवाद संशोधनवादकै एउटा भद्दा रूप हो । संशोधनवादका विरुद्ध जुधेर नै माक्र्सवादको रक्षा गर्न सकिन्छ । माक्र्सवादको रक्षा र विकासका लागि कार्ल माक्र्स एङ्गेल्स, लेनिन, स्टालिन र माओले भिषण सङ्घर्ष गर्नुप¥यो । एङ्गेल्सले भनेका छन्– “सर्वहारा वर्गको विकास जहाँकहिँ पनि आन्तरिक सङ्घर्षको बिचबाट नै अगाडि बढ्छ । जस्तो कि माक्र्स र म आफैले पनि अरू कसैका भन्दा बढी नक्कली समाजवादीका विरुद्ध जिवनमा कठिन लडाइँ लडेका छौँ ।
घ. माक्र्स र एङ्गेल्सले लासाल, बाकुनिन आदि नामसित सम्बन्धित रहेका विभिन्न निम्न पुँजीवादी समाजवादी धाराका विरुद्ध लड्नुभयो । माक्र्सवादपूर्वको समाजवाद पराजित भएको छ । अब त्यसले आफ्नै स्वतन्त्र आधारमा होइन, बरु माक्र्सवादको सामान्य आधारमा संशोधनवादको रूपमा सङ्घर्षलाई जारी राख्दै छ । बिसौँ शताब्दीको सुरुतिरको अवधिमा मजदुर आन्दोलनका पङ्क्तिहरू निकै व्यापक बनेर सर्वहारा सङ्गठनको व्यापक विस्तार भए पनि क्रान्तिकारी स्तर र क्रान्तिकारी प्रवृत्तिमा ह्रास भयो । संशोधनवादी तथा सुधारवादी प्रवृत्तिको प्रभाव व्यापक रूपमा फैलियो । सामाजिक जनवादी आन्दोलनले क्रान्तिकारी धार क्रान्तिकारी दिशाबोधलाई हानि पारेर आफ्ना पङ्क्तिलाई व्यापक बनायो ।
ङ. १८९९ मा बर्नस्टिनले सर्वहारा क्रान्ति सर्वहारा अधिनायकतन्त्र, क्रान्तिकारी कार्यनीति आदिको विरुद्ध सुधारवादी बाटो र सुधारवादी कार्यनीतिलाई अघि सारे । सबै अवसरवादी नेताहरू बर्नस्टिनवाद सैद्धान्तिक रूपमा त्यसका समर्थक र अनुयायी बनेर सामाजिक जनवादी आन्दोलनभित्र संशोधनवाद एउटा महामारी झैँ फैलियो ।
“समाजवादका पूर्वाधार र सामािजक जनवादका अभिभारा” नाम राखिएको सँगालो पुस्तकमा बर्नस्टिनका विचार निम्नानुसारका थिए :
१. समाजवादको विजयलाई शुद्ध भौतिकवादी न्यायोचितता प्रदान गर्नु सम्भव छैन र आवश्यक पनि छैन ।
२. या त तुलनात्मक रूपमा पुँजीपतिको सङ्ख्यामा बढ्दो कमी अथवा सर्वहारा वर्गमा बढ्दो धन या असङ्ख्य मध्यमवर्गको उत्पादनमा निरन्तर रूपले हुने वृद्धिबाट प्रस्तुत गरिने मात्र विकल्पहरू हुन् ।
३. शुद्ध आर्थिक कारणबाट सामान्य व्यापारिक सङ्कट आइपर्ला भनेर निष्कर्ष विनकाल्नका लागि कुनै महत्त्वपूर्ण कारण छैन ।
४. अवैधानिक उपाय र हिंसात्मक क्रान्तिबाट भन्दा वैधानिक उपायबाट सामाजिक जनवाद निकै राम्ररी फल्ने फुल्ने छ ।
५. मेरा लागि आन्दोलन सबैथोक हो र सामान्य रूपमा जुन कुरोलाई “समाजवादको अन्तिम उद्देश्य,” भनिन्छ, त्यो केही पनि होइन ।
६. वैज्ञानिक समाजवादका सिद्धान्तको पूरै परित्याग, समाजवादको क्रान्तिकारी रूपान्तरणको अस्वीकृति, पूरै सुधारवादी बाटोको समर्थन आदिको रूपमा संशोधनवादी धारा देखा पर्यो । संशोधनवाद विरोधी विचारधारात्मक सङ्घर्षमा प्रमुख तथा महत्त्वपूर्ण भूमिका लेनिनको भए पनि प्लेखानोभ लिब्नेच्ट, अगस्त बेबेल, क्लारा जेट्किन, रोजा लक्जेमबर्गहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । लेनिनले क्रान्तिकारी माक्र्सवादको स्थितिबाट निर्मम, कठोर तथा सम्झौताहीन सङ्घर्ष चलाउनुभयो । सबै मुलुकमा पुँजीपति वर्गले अनिवार्य रूपले आफ्नो आधिपत्य कायम राख्न शक्तिको प्रयोग र उदारता दुवैमध्ये कहिले एकपछि अर्काे र कहिले विभिन्न रूपबाट सँगसँगै प्रयोग गर्छन् । पुँजीवादी कार्यनीतिको घुमाउरो स्थितिले मजदुर आन्दोलनभित्र संशोधनवादलाई तीव्र पार्छन् । अक्सर मजदुर आन्दोलनभित्रका मतभेदलाई एकदमै फाटोको बिन्दुसम्म पुर्याउँछन् ।
७. लेनिनले भनेका छन्– “पुँजीवादी समाजमा संशोधनवादको स्वाभाविक हुने कुरा निम्न पुँजीवादी विश्वदृष्टिकोण फराकिलो मजदुर पार्टीका पङ्क्तिमा वारम्वार देखा पर्छ; किनभने, प्रत्येक पुँजीवादी मलुकमा सर्वहारा वर्ग सँगसँगै निम्न पुँजीवादी तत्त्वको व्यापक तहहरू ससाना सम्पत्तिवाला सधैँ रहेका हुन्छन् ।” संशोधनवाद सुरुमा एउटा मुडको रूपमा, अनि धाराको रूपमा र आखिरमा गएर अभिजात वर्गीय मजदुर समुदाय र निम्न पुँजीवादी सहयात्रीको एउटा समूह वा तहको रूपमा विकसित भएको थियो । लेनिनले भनेका छन्– “जतिसुकै प्रजातान्त्रिक भनिए पनि र जस्तोसुकै प्रजातान्त्रिक गणतन्त्रमा पनि पुँजीवादी संसद यदि पुँजीपतिहरूको समिति र शक्ति कायम रहन्छ भने मुट्ठीभर शोषकद्वारा लाखौँलाख श्रमिक जनतालाई दबाइने एउटा यन्त्रबाहेक केही पनि होइन ।”
८. क्रान्तिकारी कार्यनीतिको परित्याग, प्रजातन्त्रको वर्गरूपको इन्कारी, समाजवादतर्फ शान्तिपूर्ण सङ्क्रमणको समर्थन, सुधारवादी बाटोको अवलम्बन आदिको वकालत गरेर संशोधनवादीहरूले माक्र्सवादप्रति पूर्ण रूपमा विश्वासघात गरे । लेनिनले अझै भन्नुभएको छ– पुँजीवादी संसद र अन्य प्रत्येक खालको प्रतिकृयावादी संस्थालाई खतम पार्ने तागत आफूमा नहुँदा तपाईंहरूले तिनमा काम गर्नुपर्छ† किनभने, त्यहाँ तपाईंहरूले अझसम्म यस्ता मजदुर पाउनुहुने छ, जसलाई पुरेतहरूले धोकामा पारेका छन् । ग्रामीण जीवनका अवस्थाले मूर्ख बनाएका छन् । तिनमा काम गरिएन भने तपाईंहरूले आफूलाई बकम्फुसेमा फेर्ने खतरा छ ।”
९. विभिन्न देशका पार्टीमा संशोधनवादी विचारहरू मुख्यतः निम्न रूपमा देखा पर्दै छन् :
क. अन्तराष्ट्रिय रूपमा साम्राज्यवाद र देशीय रूपमा प्रतिकृयावादको एउटा वा अर्काे गुटप्रति सम्झौतापरस्त नीति लिने ।
ख. वर्गसङ्घर्षको नीतिलाई छाड्दै गएर सुधारवादी वा वर्गसमन्वयको नीति अपनाउने ।
ग. संयुक्तमोर्चाबारे क्रान्तिकारी नीतिलाई तिलाञ्जली दिएर दुस्मनशक्ति वा दक्षिणपन्थी र अवसरवादी तत्त्वसितको संयुक्तमोर्चामा जोड दिनु ।
घ. पार्टी सङ्गठनलाई मिलिट्यान्ट, भूमिगत र अनुशासित बनाउनुको सट्टा ढिलाढला बनाउँदै लैजानु ।
ङ. विभिन्न उग्रवामपन्थी वा दक्षिणपन्थी नीतिको तीव्र भण्डाफोर गर्ने नीति त्यागेर उनीहरूप्रति उदारवादी नीति अपनाउनु ।

