जगदीश ढकाल/नेपालगञ्ज ।
राष्ट्रिय जनमोर्चा बाँकेले एमसिसीको विरोधमा भदौ २२ गते विरोधसभा सम्पन्न गरेको छ ।
नेपालगञ्जको भेरी अस्पताल चोकमा विरोध प्रदर्शनसहितको सभामा अखिल नेपाल युवक सङ्घका महासचिव कृष्णराज पाण्डेले सम्बोधन गर्दै नेपालको हितमा एमसिसी नभएकाले त्यसलाई खारेज गर्नुको विकल्प नभएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनता विरोधी एमसिसी संसदबाट पारित गर्न खोजिएकोमा आपत्ति जनाउँदै त्यसको विरुद्ध देशभरि सशक्त आन्दोलनको आँधीबेहरी उठाउने बताउनुभयो ।
भीमप्रसाद देवकोटाले समेत सम्बोधन गर्नुभएको सो कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका महासचिव तुलसी सापकोटा, राजमोका पूर्व सांसद हरि आचार्य, जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनार, अखिल (छैठौं) का केन्द्रीय सदस्य नमराज चन्द, अखिल नेपाल युवक सङ्घ बाँकेका अध्यक्ष भरत खड्का, अखिल नेपाल महिला सङ्घ बाँकेकी अध्यक्ष पूर्णकला भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन जगदीश ढकालले गर्नुभएको थियो ।






