वासुदेव पोख्रेल ##
कामरेड विमल शर्माले हालै प्रकाशित एउटा लेखमा लेख्नुभएको छ : नेकपा (मसाल) को नेतृत्वले देशमा अहिले स्थापना भएको बहुदलीय व्यवस्था र गणतन्त्रलाई कहिलेसम्म संरक्षण गरिरहनुपर्दछ ? त्यसबारे केही बताउन सकेको छैन । नेतृत्वको भनाइ अहिले एउटा कम्युनिस्ट पार्टीले बहुदलीय व्यवस्था र गणतन्त्रको विरोध गर्नुहुँदैन र त्यसलाई संरक्षण गरिरहनुपर्दछ भन्ने रहेको छ । यदि कसैले यो व्यवस्थाभन्दा माथिल्लो व्यवस्था नयाँ जनवादी व्यवस्था स्थापनाको लागि प्रचार प्रसार गर्ने, त्यसका लागि योजना बनाउने र त्यसको स्थापनाका लागि वर्गसङ्घर्षलाई उचाइमा उठाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ भन्यो भने त्यसलाई “प्रतिगमनको सेवा” गरेको बताउने गर्दछ ।
विमल शर्माको माथिको भनाइले उहाँको राजनीतिक लाइनको चुरो कुरा अर्थात् उहाँले जतिसुकै ठुला ठुला क्रान्तिकारी कुरा गरे पनि त्यसको वास्तविक अर्थ प्रतिगमनको सेवा नै हो भन्ने कुरालाई राम्ररी उदाङ्गो बनाएको छ ।
पार्टीबाट निष्काशित र फुटपरस्त तत्त्वले नयाँ जनवादी क्रान्तिको नारालाई तात्कालिक कार्यदिशाका रूपमा नै पेस गर्ने नीति अपनाएका छन् ।
नेकपा (मसाल) ले नयाँ जनवादी व्यवस्थाको स्थापनाको कार्यक्रम वा वर्गसङ्घर्षलाई तिलाञ्जली दिने काम गरेको छैन र त्यसको प्रचार प्रसारमा जोड दिने नीति त्यो पार्टीद्वारा प्रकाशित आठौँ महाधिवेशनका दस्तावेज, न्यूनतम कार्यक्रम र राजनीतिक प्रतिवेदनमा स्पष्ट गरिएको छ । तर त्यो पार्टीले नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई कार्यनीतिक नाराको रूपमा होइन, रणनीतिक रूपमा नै प्रस्तुत गरेको छ ।
पार्टीबाट निष्काशित र फुटपरस्त तत्त्वले नयाँ जनवादी क्रान्तिको नारालाई तात्कालिक कार्यदिशाका रूपमा नै पेस गर्ने नीति अपनाएका छन् ।
रणनीतिलाई कार्यनीतिक रूपमा पेस गर्नु वामपन्थी सङ्कीर्णवादी दृष्टिकोण नै हो । मसालले उनीहरूले नयाँ जनवादी क्रान्तिमा जोड दिएको कारणले होइन, त्यसलाई कार्यनीतिक रूपमा पेस गर्ने गरेकोमा नै उनीहरूको आलोचना गरेको छ । तर उनीहरूको त्यो नीतिलार्ई प्रतिगमनको सेवा गरेको भनेर कहिल्यै पनि आरोप लगाएको छैन । तैपनि उनीहरूलाई किन प्रतिगमनको सेवा गरेको भनिएको छ ? त्यो कुरा कामरेड विमल शर्माको माथि उद्धृत लेखको पहिलो अंशबाट नै प्रष्ट हुन्छ ।
उनीहरूको तीव्र विरोध मसालले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समर्थन गरेको कुरामा नै छ ।
माथि उद्धृत लेखको पहिलो अंशमा मसालको नीतिका सन्दर्भमा यो प्रश्न उठाइएको छ– “पार्टीको नेतृत्वले देशमा अहिले स्थापना भएको बहुदलीय व्यवस्था र गणतन्त्रलाई कहिलेसम्म संरक्षण गरिरहनुपर्दछ ?… नेतृत्वको भनाइ अहिले एउटा कम्युनिस्ट पार्टीले बहुदलीय व्यवस्था र गणतन्त्रको विरोध गर्नुहुँदैन र त्यसलाई संरक्षण गरिरहनुपर्दछ भन्ने रहेको छ ।”
त्यसरी उनीहरूको तीव्र विरोध मसालले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समर्थन गरेको कुरामा नै छ । यो प्रश्नमा फुटपरस्त तत्त्व र मसालका बिचमा गम्भीर प्रकारको मतभेद भएको कुरा सत्य हो । उनीहरूको अहिलेको जोड बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्नेतिर नै छ । त्यसैले उनीहरूले मसालको बहुदलीय व्यवस्था र गणतन्त्रलाई समर्थन गर्ने नीतिका विरुद्ध नै हमला केन्द्रित गरेका छन् ।
मसालले यो कुरा बारम्बार स्पष्ट गर्दै आएको छ कि बहुदलीय व्यवस्था र गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानद्वारा प्राप्त उपलब्धि हुन । राजावादी शक्तिहरूले ती दुबैलाई समाप्त गरेर राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापनाका लागि अभियान चलाइरहेका छन् ।
त्यो अवस्थामा मसालले बहुदलीय व्यवस्था, गणतन्त्र र धर्म निरपेक्षतासमेत माथि प्रतिगमनको खतरा भएको बताएर तिनीहरूको रक्षाका लागि सङ्घर्ष गर्ने कुरामा जोड दिइरहेको छ । मसालको त्यही नीति फुटपरस्त तत्त्वलाई असह्य भएको छ र उनीहरूले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्नका लागि नै मुख्य जोड लगाइरहेका छन् । त्यसरी उनीहरूको त्यो नीति राजावादीसित मिल्न गएको छ । मसालले उनीहरूको त्यो नीतिलाई प्रतिगमनको सेवा बताएको छ ।
प्रतिगामी शक्तिहरूको हमलाका विरुद्ध मसालले बहुदलीय व्यवस्था र गणतन्त्रको रक्षाका लागि जोड दिने जुन नीति अपनाएको छ, त्यो उनीहरूका लागि दक्षिणपन्थी गल्ती बन्न जान्छ र त्यसका विरुद्ध उनीहरूले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्ने नीतिलाई क्रान्तिकारी बताउन पुगेका छन् ।
विमल शर्माको लेखको माथिको अंशले पनि उनीहरूको मुख्य जोड बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्नका लागि नै भएको कुरामा कुनै शङ्का रहन्न र उनीहरूको त्यस प्रकारको नीति नै प्रतिगमनको सेवा भएको कुरा प्रष्ट छ । त्यही उनीहरूको अहिलेको कार्यनीति पनि हो, जसका आधारमा उनीहरूले आफ्नो सङ्घर्षलाई अगाडि बढाउने प्रयत्न गरिरहेका छन् । प्रतिगामी शक्तिहरूको हमलाका विरुद्ध मसालले बहुदलीय व्यवस्था र गणतन्त्रको रक्षाका लागि जोड दिने जुन नीति अपनाएको छ, त्यो उनीहरूका लागि दक्षिणपन्थी गल्ती बन्न जान्छ र त्यसका विरुद्ध उनीहरूले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्ने नीतिलाई क्रान्तिकारी बताउन पुगेका छन् ।
उनीहरूको नीतिले प्रतिगामीहरूको बहुदलीय व्यवस्था र गणतन्त्रमाथि हमला गर्ने नीतिसित मेल खाने हुनाले उनीहरूले देशमा प्रतिगामी खतरा छ भन्ने कुरालाई अस्वीकार गर्दछन् । त्यति मात्र होइन, उनीहरूले सामन्तवादसितको अन्तरविरोधलाई नै गौण बताउन पुगेका छन् ।
त्यसरी उनीहरू सामन्तवादका विरुद्धको सङ्घर्षमा जोड दिने नीतिबाट पनि पछाडि हटेका छन् । त्यही नीतिका कारणले उनीहरू राजावादी वा प्रतिगमनको खतराका विरुद्ध सङ्घर्ष गर्ने नीतिलाई पनि तिलाञ्जली दिन पुगेका छन् । उनीहरूको बहुदलीय व्यवस्था र गणतन्त्रका विरुद्ध हमला गर्ने नीतिका नै यी सबै प्रकट रूप हुन । यी केही कुराबाट उनीहरूले क्रान्तिकारिताको नाममा प्रतिगमनको सेवा गरिरहेको कुरामा कुनै शङ्का रहन्न । तैपनि मसालले उनीहरूलाई प्रतिगामी शक्ति नै भनेको छैन र खालि प्रतिगमनको सेवा गरेको मात्र भनेको छ ।