काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले शहिद शोभाखर धनञ्जयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । शोभाखर पार्टीको एक अनुशासित, प्रतिबद्ध र जुझारु नेता र सिपाही हुनुहुन्थ्यो भन्दै मसालले पार्टीको निर्देशन र निर्णयानुसार उहाँले हाँक पत्रिकाको सम्पादन गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा लिएको स्मरण गरेको छ ।
सरोज शर्मा (शोभाखर धनन्जय)को ३६औँ स्मृति दिवसका अवसरमा प्रवक्ता रामप्रकाश पुरीले शुक्रबार प्रेशित गर्नुभएको वक्तव्यमा शोभाखरको मृत्युपछि पनि ‘हाँक’ ले लामो समयसम्म क्रान्तिकारी विचारलाई प्रचार गर्न मद्दत गरेको स्पष्ट पार्दै तर अहिले त्यो गलत तत्वहरूको हातमा पुगेको बताउनुभएको छ ।
‘अहिले त्यो पत्रिका खालि का. शोभाखर धनञ्जयको नामको दुरूपयोग गरी उहाँले सुरु गरेको महान् परम्परालाई ध्वस्त गर्न मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको एक मात्र क्रान्तिकारी शक्तिको रूपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) का विरुद्धमा घृणित र पाखण्डीपूर्ण कार्य गर्नका लागि एउटा फोहरी सामग्री बन्न गएको छ’ वक्तव्यमा भनिएको छ ।
मसालले शोभाखरले सुरु गरेको परम्परा र थालनीको कहिल्यै पनि अन्त्य नहुने र हुन पनि नदिने प्रतिवद्धता व्यक्त गर्दै त्यो काम अहिले ‘युगदर्शन’ ले गरिरहेको पनि स्पष्ट पारेको छ ।
यस्तो छ, वक्तव्य
‘जनवादी तथा प्रगतिशील सांस्कृतिक अभियन्ता जेबी टुहुरे (जुठबहादुर खड्गी) को २०७८ भाद्र १० गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । टुहुरेले नेपालको जनवादी तथा प्रगतिशील सांस्कृतिक आन्दोलनमा लामो समयदेखि निरन्तर र महत्वपूर्ण योगदान दिँदै आउनुभएको थियो । उहाँ मुख्य रूपले जनवादी गायक हुनुहुन्थ्यो । उहाँका गीतसङ्गीतले जनतामा परिवर्तनप्रति जागरणको सन्देश प्रवाह गरेका छन् र उहाँका ती विभिन्न अमर सांस्कृतिक कृतिहरूले जनताको बिचमा सामाजिक परिवर्तनको आन्दोलनमा सधैँ चेतना र जागरणको सन्देश प्रवाह गरिरहने छन् । नेपालको सामाजिक परिवर्तन तथा सांस्कृतिक आन्दोलनको क्षेत्रमा टुहुरे एक सांस्कृतिक अभियन्ताको रूपमा अविस्मरणीय हुनुहुन्छ । हामीले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
हाम्रो पार्टीको निर्णयानुसार सर्वप्रथम का. शोभाखर धनञ्जयको सम्पादकत्वमा हाँक पत्रिका प्रकाशित भएको थियो । का. शोभाखर सर्वप्रथम हाम्रो पार्टीको एक अनुशासित, प्रतिबद्ध र जुझारु नेता र सिपाही हुनुहुन्थ्यो । उहाँले पार्टीको निर्देशन र निर्णयानुसार उक्त हाँक पत्रिकाको सम्पादन गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा लिनुभएको थियो । पार्टीको त्यो ऐतिहासिक जिम्मेवारी बहन गरिरहेकै बेलामा का. शोभाखरको मृत्यु भएको थियो । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जलीका साथै श्रद्धासुमन व्यक्त गर्दैछौँ ।
उहाँको मृत्युपछि त्यो ऐतिहासिक जिम्मेवारीलाई पार्टीको प्रत्यक्ष निर्देशन र संरक्षणमा अगाडि बढाइएको थियो । उहाँको सम्पादन कालमा उक्त पत्रिकामा प्रकाशित हुने मुख्य सामग्री पार्टीका वैचारिक विरासत नै थिए । त्यसरी त्यो हाँक पत्रिकाले पार्टीको वैचारिक विरासतको परम्परालाई निरन्तर अगाडि बढाउँदै पार्टीको संस्थागत निर्णयको संरक्षण, सम्वद्र्धन र प्रचार कार्यलाई लामो समयसम्म कायम राखेको थियो । तर गत केही वर्षअगाडिबाट उक्त हाँक पत्रिकालाई गलत तत्वहरूले कब्जामा लिएपछि युगदर्शन साप्ताहिक र युगदर्शन अनलाइनमा का. शोभाकरको त्यो महान् परम्परा हस्तान्तरित हुन पुगेको थियो र अहिले त्यो परम्पराको सुचारु युगदर्शन पत्रिकामार्फत भइरहेको छ ।
गलत तत्वहरूले हाँक साप्ताहिकलाई कब्जामा लिएपछि उनीहरूले का. शोभाखर धनञ्जयले स्थापित गर्नुभएको त्यो महान परम्परामाथि आक्रमण गरेका थिए । अहिले त्यो पत्रिका खालि का. शोभाखर धनञ्जयको नामको दुरूपयोग गरी उहाँले सुरु गरेको महान् परम्परालाई ध्वस्त गर्न मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको एक मात्र क्रान्तिकारी शक्तिको रूपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) का विरुद्धमा घृणित र पाखण्डीपूर्ण कार्य गर्नका लागि एउटा फोहरी सामग्री बन्न गएको छ । हाम्रो पार्टीको महान् उद्देश्यको यात्रामा त्यस प्रकारका घृणित र पाखण्डीपूर्ण कार्यले बेलाबेलामा बाधा उत्पन्न गर्ने दुष्प्रयास गरेको भए पनि ती सबै पराजित र विफल भएर जाने कुरा स्पष्ट छ । का. शोभाखरले सुरु गर्नुभएको परम्परा र थालनीको कहिल्यै पनि अन्त्य हुने छैन र हुन दिइने पनि छैन ।
दार्चुलाको तुइन प्रकरणको घटनाको छानबिन भएको प्रतिवेदन अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन र तुरुन्त सार्वजनिक गर्नका लागि आनाकानी गरेको देखिन्छ । छानबिन समितिले उक्त घटनामा भारतीय पक्ष दोषी भएको कुरा प्रतिवेदनमा उल्लेख भएको भनी सञ्चार माध्ययममा आएका सूचनाबाट जानकारी प्राप्त हुन्छ । त्यो जे भए पनि उक्त प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्दछ । उक्त घटनामा भारतीय पक्ष दोषी भएको कुरा त्यो प्रतिवेदनमा उल्लेख भएकाले कतै भारतीय साम्राज्यवादको दबाबमा नेपाल सरकारले त्यो प्रतिवेदन सार्वजनिक गर्न हिच्किचाइरहेको त छैन भन्ने गम्भीर प्रश्न खडा हुन्छ । त्यसैले छिटोभन्दा छिटो त्यो प्रतिवेदन सार्वजनिक गर्नका लागि हामीले सरकारसँग माग गर्दछौँ र उक्त घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनका लागि भारतीय पक्षसँग उच्च कूटनीतिक वार्ता समेत अगाडि बढाउनुपर्नेमा हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।”
२०७८ भाद्र ११ गते ।