काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटीको बैठकमा यसअघि माधवकुमार नेपालको पक्षमा रहेका तर, पार्टी विभाजनमा साथ नदिएका १० जना स्थायी कसमटी सदस्य पनि सहभागी छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै पछिल्लो समय एमाले स्थायी कमिटी बैठकमा सहभागी नभएका माधवकुमार नेपाल पक्षीय १० स्थायी कमिटी सदस्य बैठकमा सहभागी भएका हुन् ।
पार्टीको तेस्रो धारमा रहेका भनिएका १० जना स्थायी कमिटी सदस्यहरू करिब ८ महिनापछि एमालेको बैठकमा गएका हुन् । उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि बैठकमा भाग लिन पुगेका छन् ।
यसअघि पुस ५ गते प्रतिनिधि सभा विघटन भएसँगै तत्कालीन नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको समूहमा लागेका उनीहरू फागुन २३ मा एमाले ब्युँतिएपछि पनि फर्किएका थिएनन् ।
नेपालले एमाले फुटाएर नयाँ पार्टी खोल्ने निर्णयमा असहमति जनाएका उनीहरू असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार भएपछि बैठकमा भाग लिन पुगेका हुन् ।