समीर सिंह ##
मेरो एउटा पेसा विद्यार्थीलाई पढाउने पनि हो । उनीहरूलाई मैले अनुसन्धान (रिसर्च) विषय पढाउने गर्दछु । त्यो विषय पढाउँदा अनुसन्धान, तथ्यपरक, तार्किक, वस्तुनिष्ठ, वैज्ञानिक तथा व्यवस्थित हुनुपर्छ भन्ने कुरामा मैले जोड दिने गरेको छु । कुनै निष्कर्षमा पुग्दा पूर्वाग्रह, कुण्ठा, आवेगद्वारा होइन, तथ्यको विश्लेषण गर्दा जुन परिणाम आउँछ, त्यसलाई नै निष्कर्षको रूपमा स्वीकार गर्नुपर्ने हुन्छ । विभिन्न तथ्यबिच सम्बन्ध कायम गर्दै जाँदा जुन परिकल्पना (हाइपोथेसिस) निर्माण हुन्छ, त्यसको परीक्षण गर्दै निष्कर्षतर्फ पुग्ने नै सही अनुसन्धानको पद्धति हो । विभिन्न सामाजिक, राजनीतिक, आर्थिक घटनाको विश्लेषण गर्दा पनि यस प्रकारको अनुसन्धानमूलक पद्धति नै सबैभन्दा उत्तम विकल्प हो ।
नयाँ पत्रिकाले २०७७ साउन १४ गते बाबु खिमविक्रम र छोरा मोहनविक्रम : अन्तरसम्बन्ध र अन्तरसङ्घर्षको कथा शीर्षकमा मेरो एउटा लेख छापेको थियो । उक्त लेखमाथि केन्द्रित हुँदै एक जना छद्म नामधारीले गत साउन २७ गते सामाजिक सञ्जालमा ‘मोहनविक्रम सिंहको पार्टी फुटाउने खेती’ शीर्षक लेखमा उहाँको परिवारसहित पार्टीको समेत चरित्रहत्या गर्ने अभिप्रायले एउटा लेख प्रकाशित गरेका छन् ।
कुनै पनि सिद्धान्त, विचार, पद्धति शैली मन परेन भने खण्डन गर्न पाइन्छ । तर लेखकीय मूल्यमान्यता के हो भने कुनै पनि कुराको खण्डन गर्दा तार्किक, वस्तुनिष्ठ र तथ्यपरक तरिकाको लेखनशैली हुनुपर्दछ । कुण्ठा, पूर्वाग्रह तरिकाले व्यक्तिगत चरित्र हत्या गर्ने मात्र लेखनशैली हुन्छ भने त्यस्तो मानिसलाई कस्तो लेखक भन्ने ? यो प्रश्नको समाधान गर्ने जिम्मेवारी मैले पाठकलाई दिएँ ।
छद्म नामधारीले क. मोहनविक्रमप्रति लक्षित गर्दै प्रश्न गरेका छन्– ‘सामन्ती, फटाहा, चोर, डाँकाको छोराले चोरीडकैती, ढाँट, छलकपट, फट्याइँ र बलात्कारबाहेक अरू के जानेको हुन्छ होला ?’
यस प्रकारको निम्नस्तरको लेखलाई खण्डन गर्नु पनि त्यति आवश्यक नहुने हो । तैपनि त्यसबाट जनस्तरमा केही भ्रम हुन सक्ने सम्भावनामाथि ध्यान दिँदै मैले केही तथ्य उजागर गर्न खोजेको छुु ।
कति तल्लोस्तरको भाषा ? अनि, मेरो मनमा प्रश्न उत्पन्न भयो, यस्तो आक्षेप लगाउने व्यक्ति को हुन सक्छ ? यो स्पष्ट छ कि त्यो व्यक्ति नेकपा (मसाल) को आन्तरिक कुराबारे जानकार व्यक्ति नै हुनुपर्दछ । यसको अर्थ लेखक, अन्य पार्टीको व्यक्ति नभएर नेकपा (मसाल) को नेतृत्वतहमा लामो समयसम्म काम गरेको र हाल मसालबाट निष्काशित व्यक्ति नै हुनुपर्दछ । नेकपा (मसाल) मा बस्दा अनुशासनविहीनता र अराजक शैलीलाई बारम्बार दोहोर्याउदै जाँदा सुध्रनै नसकेको नै त्यो व्यक्ति हुनुपर्दछ । सुध्रनै नसकेर बाध्य भएर पार्टीले कारबाही गरेको र त्यो कारणले पार्टीको नेतृत्वप्रति धेरै नै क्षुब्ध भएको, प्रतिशोधको भावना भएको, रिसले आँखा नदेख्ने, कुण्ठाग्रस्त र केही मानसिक असन्तुलन भएको नै त्यो व्यक्ति हुन सक्ने प्रशस्त आधार छ ।
छद्म नामधारीको लेखनशैली हेर्दा, लेख्ने क्षमता भएको मानिस नै त्यो व्यक्ति हुनुपर्दछ । हाम्रो पार्टीका विरुद्ध कैयौँ व्यक्तिले लेखिरहेको अवस्था हो । तर जसको भाषाशैली, सैद्धान्तिक र वैचारिक प्रकारको हुन्छ, उनीहरूले त्यस प्रकारको तल्लोस्तरको लेख लेख्न अवश्य पनि सक्दैनन् । यी विभिन्न तथ्यबाट पनि प्रष्ट हुन्छ, तल्लोस्तरको भाषाशैलीमा असभ्य व्यक्ति, त्यो हुनुपर्दछ । त्यो लेखमा प्रयोग गरिएको भाषाशैलीबाट त्यसमा उपर्युक्त विशेषता भएको कुरामा कुनै शङ्का रहन्न । ती विशेषतासँग मेलखाने व्यक्ति को होला ? त्यो कुरा छुट्याउने वा निष्कर्ष निकाल्ने जिम्मा मैले पाठकलाई नै दिन्छु ।
यस प्रकारको निम्नस्तरको लेखलाई खण्डन गर्नु पनि त्यति आवश्यक नहुने हो । तैपनि त्यसबाट जनस्तरमा केही भ्रम हुन सक्ने सम्भावनामाथि ध्यान दिँदै मैले केही तथ्य उजागर गर्न खोजेको छुु ।
कसैको चरित्रहत्या गर्ने व्यक्तिलाई एउटा लेखद्वारा खण्डन गर्ने मात्र नभएर कानुनी रूपमा पनि उपचार गर्नुपर्ने हुन सक्दछ । लेखको भाषाशैली हेर्दा त्यो व्यक्तिको मानसिक उपचार पनि गर्नुपर्ने हुन सक्छ । त्यो त भविष्यमा कार्यान्वयन हुँदै जाला । तर अहिले त्यो लेखका केही भ्रमलाई मैले प्रष्ट पार्ने प्रयास मात्र गरेको छु ।
उक्त लेखमा लेखिएको छ– “सर्वप्रथम पार्टी फुट विभाजन आदि कुराको विषयमा विचार गर्नुभन्दा पहिला हामीले मोहनविक्रम सिंहको वर्गचरित्रको पृष्ठभूमिका बारेमा प्रष्ट हुनु जरुरी हुन्छ । यहाँहरूलाई मैले प्रष्ट के निवेदन गर्न चाहन्छु भने मोहनविक्रम सिंह प्युठानका धनाड्य, उसबेलाका सामन्त, फटाहा, गुन्डा, डाकाँको छोरा हुनुहुन्छ ।”
मोहनविक्रम सिंह प्युठानको धनाड्य र सामन्तको छोरा भएको कुरा सत्य हो । त्यो कुरा स्वयम् मोहनविक्रमले नै बारम्बार स्वीकार गरिसक्नुभएको छ ।
लेखमा अगाडि लेखिएको छ– “मोहनविक्रम सिंहका सुपुत्र समीर सिंहले आफ्ना हजुरबाको बारेमा लेखिएको लेखमा प्युठानमा प्रचलित एउटा गीतको उल्लेख गरेका छन् । त्यो गीत हो, ‘….जति काटे पनि नकाटिने खेमविक्रमको घाँटी …’ । तर खिमविक्रमको नाती केटो कतिसम्म चलाख भने हजुरबाको कर्तुतको ढाकछोप गर्न त्यो गीत किन गाउन बाध्य भए त प्युठानी जनता भन्ने कुरा उल्लेख गरेका छैनन् । त्यो गीतको पछाडिको गाँठी कुरो के हो त भन्ने कुरालाई गुपचुप राखेका छन् । …त्यो गीत किन गाइएको थियो भन्ने कुरा जान्न मन लाग्यो र प्युठानमा केही समय बसेर अध्ययन, अनुसन्धान गरेर काठमाडौँ फर्केको छु ।”
बाजे खिमविक्रममा कम्युनिस्ट शैली थियो र उहाँ आदर्श व्यक्तित्त्व हो भनेर मैले दाबी गरेको नै छैन । तर पनि राणा विरोधी आन्दोलनमा उहाँको महत्त्वपूर्ण भूमिका थियो । राणा विरोधी आन्दोलनको सन्दर्भमा प्युठान र सल्यान जिल्ला कब्जा गर्दा बाजेको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका रहेको थियो ।
त्यो अध्ययन, अनुसन्धानपछि उनले पत्ता लगाएको तथ्यमाथि प्रकाश हाल्दै त्यो लेखमा भनिएको छ– “खिमविक्रमले गाउँकै एक जना मगरकी सुन्दर/राम्री श्रीमती जबरजस्ती उठाएर ल्याएका रहेछन् । त्यसकारण त्यहाँका मगरहरूले खेमविक्रम सिंहलाई मार्न भनी एक दिन राति सुतेको बेलामा गएर खुकुरी प्रहार गरेका रहेछन् ।”
बाजेमा सामन्ती शैली थियो र उहाँका आठ वटी श्रीमती भएको कुरा सत्य हो । तर तिनीहरूमध्ये मगर जातकी कुनै हजुरआमा नै हुनुहुँदैनथ्यो । हाम्रो गाउँ, त्यसका आसपासका गाउँ वा प्युठान जिल्लामा बुझे पनि त्यस प्रकारको आरोप निराधार भएको कुरा प्रष्ट हुने छ । मैले उक्त लेखकलाई तथ्यको आधारमा त्यो दाबी सत्य सावित गर्नका लागि चुनौती दिन्छु । झिमरुक गाउँपालिकामा मगरको आवादी भएका चार वटा गाउँ छन्– चौके, सोलाल्ना, पोखरी र बिडडाँडा । ती गाउँमा गएर बुझे पनि ती गाउँका मगरहरूले हाम्रो हजुरबुबालाई काटेको कुरा असत्य सावित हुने छ । वास्तविकता के हो भने आफ्नै गाउँका दाजुभाइसँग झगडा पर्दा उनीहरूले राती सुतेको बेलामा बाजेको घाँटीमा खुकुरी प्रहार गरेका थिए । मैले नयाँ पत्रिकाको लेखमा त्यही कुराको चर्चा गरेको छु ।
बाजे खिमविक्रममा कम्युनिस्ट शैली थियो र उहाँ आदर्श व्यक्तित्त्व हो भनेर मैले दाबी गरेको नै छैन । तर पनि राणा विरोधी आन्दोलनमा उहाँको महत्त्वपूर्ण भूमिका थियो । राणा विरोधी आन्दोलनको सन्दर्भमा प्युठान र सल्यान जिल्ला कब्जा गर्दा बाजेको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका रहेको थियो । त्यही बेला उहाँ पहिले प्युठान जिल्लाको सहायक गर्भनर र पछि गर्भनर पनि बन्नुभएको थियो । बुबा मोहनविक्रमले प्युठानमा कम्युनिस्ट पार्टीको स्थापना गर्नुभन्दा पहिले प्रशिक्षण शिविरमा उहाँले महत्त्वपूर्ण सहयोग पु¥याउनुभएको कुरा पनि प्युठानका सबै मानिसलाई थाहा भएको कुरा हो ।
छद्म नामधारीले लेखेका छन्– “शिविरको नाममा जुन रकम, अन्नबाली उठाइयो, त्यसको कुनै लेखाजोखा भएन, पूरै खिमविक्रम र मोहनविक्रमले खाए ।”
वास्तविकता के हो भने प्युठानको रातामाटामा चलेको शिविरमा करिब एक सय जना प्रशिक्षार्थी थिए र त्यो शिविर आवासीय रूपमा तीन महिनाभन्दा बढी समयसम्म चलेको थियो । त्यो शिविरका लागि उठेको सबै रकम र अन्नबाली बाजे खिमविक्रम र बुबा मोहनविक्रमले खाएको भए तीन महिनासम्म त्यो आवासीय शिविर कसरी चल्यो ? नेपालको कम्युनिस्ट आन्दोनको इतिहासमा मात्र होइन, नेपालको सम्पूर्ण राजनीतिक इतिहासमा पनि कुनै राजनीतिक पार्टीले तीन तीन महिनासम्म त्यस प्रकारको आवासीय शिविर चलाएको कुनै उदाहरण छैन । त्यो शिविरले प्युठानमा कम्युनिस्ट पार्टीलाई एउटा शक्तिको रूपमा स्थापित ग¥यो । त्यो अवधिमा पार्टीमाथि कैयौँ पटक ठुलो मात्रामा दमन र गिरफ्तारी भयो । पार्टीका कार्यकर्तामाथि राजद्रोहसहित कैयौँ झुटा मुद्दा लागे । त्यसका साथै पार्टीमा कैयौँ टुटफुट भए । त्यस प्रकारको चुनौतिपूर्ण परिस्थितिका बाबजुद अहिले ६८ बर्षपछि पनि प्युठानमा नेकपा (मसाल), एउटा शक्तिको रूपमा विद्यमान छ । २०१० सालमा चलेको शिविरले बनाएको आधारले पनि त्यो सम्भव भएको हो ।
मैले सुनेअनुसार प्युठानको आखरकोटमा बुबाले अहिले एउटा घर बनाउन थाल्नुभएको छ । त्यो घर बनाउन थालेपछि सामाजिक सन्जालमा उहाँले करोडौँ रुपियाँ पर्ने घर बनाउन लागेको आरोप लगाइने गरिएको छ । उहाँसँग प्रशस्त पैसा भएको भए काठमाडौँ वा तराईको कुनै सहरमा भव्य बङ्गला बनाइन्थ्यो होला । ओखरकोटको टुप्पामा गएर गाउँको सस्तो घडेरी किनेर त्यो घर बनाउनुपर्ने स्थिति उत्पन्न हुने थिएन होला ।
बुबा मोहनविक्रममाथि विभिन्न प्रकारले पार्टीमा उठेको रकममाथि भ्रष्टाचार गरेको कैयौँ आरोप लगातार लाग्ने गरेका छन् । खास गरेर सामाजिक सन्जालको प्रचलन सुरु भएदेखि त्यस प्रकारका कैयौँ लेख प्रकाशित हुने गरेका छन् । उहाँले त्यसरी भ्रष्टाचार गर्दै आएको भए उहाँसँग ठुलो सम्पत्ति सङ्कलन भएको हुनुपर्दथ्यो । काठमाडौँ र तराईमा उहाँका कैयौँ विशाल घर बनेको हुनुपर्दथ्यो । बैङ्कमा उहाँको करोडौँ रुपियाँ सङ्कलित भएको हुनुपर्दथ्यो । उहाँसँग महङ्गा मूल्यका गाडी हुनुपर्दथ्यो । तर अहिलेसम्म उहाँको त्यस प्रकारको कुनै पनि घर, सम्पत्ति, गाडी तथा जग्गाजमिन नभएको जगजाहेर नै छ ।
मैले सुनेअनुसार प्युठानको आखरकोटमा बुबाले अहिले एउटा घर बनाउन थाल्नुभएको छ । त्यो घर बनाउन थालेपछि सामाजिक सन्जालमा उहाँले करोडौँ रुपियाँ पर्ने घर बनाउन लागेको आरोप लगाइने गरिएको छ । उहाँसँग प्रशस्त पैसा भएको भए काठमाडौँ वा तराईको कुनै सहरमा भव्य बङ्गला बनाइन्थ्यो होला । ओखरकोटको टुप्पामा गएर गाउँको सस्तो घडेरी किनेर त्यो घर बनाउनुपर्ने स्थिति उत्पन्न हुने थिएन होला ।
मैले बुझेअनुसार इन्जिनियरले दुई तले घरको नक्सा बनाएका थिए । तर अहिले पैसा जुटाउन नसकेर उहाँलाई एक तले घर पूरा गर्न पनि मुस्किल परिरहेको अवस्था छ । त्यो घर बनाउन एउटा बैङ्कबाट १० लाख रुपियाँ ऋण लिइएको रहेछ । कैयौँ साथीबाट सापटी र सहयोग पनि लिइएको छ । मिस्त्री, छड, सिमेन्ट, झ्यालढोकाको लाखौँ पैसा तिर्न अहिले पनि बाँकी छ । यदि बुबा मोहनविक्रममा पार्टीको सम्पत्तिमा भ्रष्टाचार गर्ने प्रवृत्ति हुन्थ्यो भने पहाडको टुप्पोमा एउटा घर बनाउँदा त्यस प्रकारको कठिनाइको सामाना गर्नुपर्दथ्यो र ?
कतिपय व्यक्तिको कुनै भूगोलसँग भावनात्मक सम्बन्ध अली बढी नै हुने गर्दछ । त्यही सम्बन्धका आधारमा नै बुबाले कुनै ठुलो सहर नरोजेर ओखरकोट रोज्नुभयो र अहिले त्यहाँ घर बनाउँदै हुनुहुन्छ । सायद बुबाले आफ्नो बाँकी जीवन ओखकोटमा नै बिताउनुहुने छ ।
प्युठानको किसान आन्दोलन र स्कुलको निर्माणका कार्यमा बाजे खिमविक्रम र बुबा मोहनविक्रमको महत्त्वपूर्ण सहकार्य रहेको थियो । २०१० सालको नारिकोटको ऐतिहासिक किसान आन्दोलन र ओखरकोटको बाल शिक्षा स्कुलको निर्माणमा बाजे खिमविक्रमले महत्त्वपूर्ण सहयोग पुर्याउनुभएको थियो । त्यो कुरा अहिलेका झिमरुक र गौमुखी गाउँपालिकामा गएर बुझ्ने हो भने पनि प्रष्ट हुने छ ।
२०११ सालमा प्युठानमा चलेको संयुक्त भ्रष्टाचार विरुद्ध सङ्घर्ष समितिको उहाँ अध्यक्ष हुनुहुन्थ्यो । त्यो आन्दोलनमा बुबा मोहनविक्रम र का. खगुलाल, नेपाली काङ्ग्रेसका हेमराज पण्डितसहित ६ जना व्यक्तिलाई गिरफ्तार गरेर जेलमा हालिएको थियो । बाजे खिमविक्रमका नाममा वारेन्ट काटिएको थियो । कम्युनिस्ट पार्टी र काङ्ग्रेसका कार्यकर्ता गिरफ्तार भए पनि बाजे खिमविक्रमले डेढ वर्षसम्म भूमिगत प्रकारले गिरफ्तार राजबन्दीलाई छुटाउन जिल्लाव्यापी अभियान चलाउनुभएको थियो । त्यसरी बाजेखिमविक्रम सामन्त भए पनि उहाँ केही हदसम्म बेग्लै प्रकारको सामन्त हुनुहुन्थ्यो । उहाँको प्रजातान्त्रिक आन्दोलन र वामपन्थी आन्दोलनमा पनि महत्त्वपूर्ण भूमिका रहेको थियो ।
मैले नयाँ पत्रिकामा प्रकाशित आफ्नो लेखमा उपर्युत तथ्यको नै चर्चा गरेको थिएँ । सत्यको अध्ययन र अनुसन्धान गर्न प्युठानमा गएका लेखक महोदयले जुन प्रकारको निष्कर्ष निकालेर आउनुभयो, त्यो कपोलकल्पित र निराधार हुनुका साथै हास्यास्पद पनि छ । यो बुझ्न गाह्रो पर्दैन कि उहाँले सत्य र तथ्यका आधारमा होइन, आफ्ना कुण्ठा, बद्लाको भावना र रिसको भारी बोकेर हाम्रो तीन पुस्तामाथि सिद्धान्तहीन र अराजनीतिक हमला गर्न पुग्नुभएको छ । उहाँको आक्रोश बुबा मोहनविक्रम माथि होला । त्यस प्रकारको आक्रोश नियन्त्रण गर्न नसक्दा बाजे खिमविक्रमदेखि लिएर म नाती समीरका विरुद्ध पनि तथ्यहीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयत्न गरिएको छ । सायद त्यसैलाई उहाँले आफ्नो क्रान्तिकारिता ठान्नुहुन्छ । वास्तवमा त्यो उहाँको निरास र हतास मानसिकताको नै परिणाम हो ।
छद्म नामधारी लेखकले क. मोहनविक्रममाथि आक्रमण गर्नका लागि एउटा यस्तो दार्शनिक सिद्धान्तको नै प्रतिपादन गरेका छन्, जो एउटा वैचारिक दिवालियापनबाहेक केही होइन, जसले वास्तविकतासँग अलिकति पनि मेल खादैन ।
बाजे खिमविक्रम सामन्त हुनुहुन्थ्यो । त्यो उहाँको चरित्रको प्रधान पक्ष थियो । तर त्यसका साथै किसानमाथि विभिन्न सामन्त तथा जालीफटाहाले गर्ने अन्याय–अत्याचारका विरुद्ध उनीहरूलाई सहयोग गर्ने पनि बाजेको महत्त्वपूर्ण भूमिका हुने गर्दथ्यो । जिल्लाका अन्य सामन्त वा जालीफटाहाभन्दा उहाँको त्यस प्रकारको भूमिका बेग्लै प्रकारको थियो । जस्तो कि मैले नयाँपत्रिकामा छापिएको लेखमा क. खगुलालको आत्मवृत्तान्तको एउटा अंश उल्लेख गरेको छु ।
उहाँले आत्मवृत्तान्तमा भन्नुभएको छ– ‘नारीकोटको साहुमुखियाले जङ्गल फँडानी गरेको भनेर मेरा विरुद्ध झुटा मुद्दा दिएका थिए । म खिमविक्रमकहाँ उजुरी गर्न गएँ र उहाँले आएर मेरो पक्षमा फैसला गर्नुभयो । उहाँले मलाई त्यो झुटा मुद्दाबाट बचाउनुभयो ।’
क. खगुलालको त्यो आत्मवृत्तान्तबाट पनि बाजेको उपर्युक्त प्रकारको कार्यप्रणालीको बारेमा प्रष्ट हुुन्छ । त्यो एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । उहाँको त्यस प्रकारको कार्यप्रणालीका कारणले नै हाम्रो गाउँ मात्र होइन, प्युठान जिल्ला तथा छिमेकी जिल्लाका कैयौँ गाउँका सामन्त र जालीफटाहा पनि उहाँको दुस्मन बनेका थिए । त्यही प्रकारको स्वभावले गर्दा उहाँ राणा विरोधी आन्दोलन, किसान आन्दोलन तथा कम्युनिस्ट आन्दोलनको पक्षमा पनि उभिन पुग्नुभएको थियो । त्यति हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीले कहिल्यै उहाँलाई पार्टी तथा किसान सङ्घको सदस्य बनाएको थिएन ।
छद्म नामधारी लेखकले आफ्नो उच्चस्तरको दार्शनिक विद्वता देखाउदै यो कुरा लेखेका छन्– “हलोजुवा बनाउनेको छोराले हलोजुवा बनाउन सिकेको हुन्छ । डोकोडाला बुन्ने बाबुको छोराले कलात्मक डोकोडाला बुन्न जानेको हुन्छ । त्यसै गरेर एउटा सामन्ती फटाहा, चोर, डाँकाको छोराले चोरी, डकैती, ढाँट, छलकपट, फटयाइँ र बलात्कारबाहेक अरू के जानेको हुन्छ होला ? पढीलेखि केही शिक्षा आर्जन गर्न सक्छ तर उसको पुख्र्यौली विरासत उसले कुनै पनि हालतमा छोड्न सक्दैन । अटोमेटिक उसको दिमाग र व्यवहारले उसलाई त्यो दिशातिर लिएर जान्छ । त्यो कुराको उदाहरण हाम्रा मोहनविक्रम सिंहको उदाहरणबाट पनि प्रष्ट हुने छ ।”
उक्त भनाइबाट के प्रष्ट हुन्छ भने उक्त लेखका लेखकलाई माक्र्सवादी दर्शनको द्वन्दात्मक नियमको अलिकति पनि ज्ञान छैन । त्यो लेखलाई आधार मान्ने हो भने त कुनै पनि चिज, व्यक्ति तथा समाजको संरचना एकबाट अर्काे रूपमा परिवर्तन हुँदै जाने कुरालाई अस्वीकार गर्नुपर्ने होला । यदि त्यो लेखमा भनेको जस्तो कुरा सत्य भएको भए दासयुग तथा सामन्तवादी युगमा कहिल्यै परिवर्तन हुँदैनथ्यो र त्यो सधैँ पहिलेकै अवस्थामा रहनेथियो । एङ्गेल्स पुँजीपति वर्गबाट आएका थिए र उनी कहिल्यै पनि सर्वहारा वर्गका नेता बन्ने थिएनन । माक्र्स, लेनिन तथा माओ पनि सर्वहारा वर्गबाट आएका थिएनन् र उनीहरूमा सधैँ नै आफ्नो पहिलेको गैरसर्वहारा चरित्र रहिरहन्थ्यो । संसारमा यस्ता थुप्रै उदाहरण पाइन्छन्, जसमा एउटा अवस्थाबाट अर्काे अवस्थामा रूपान्तरण हुने गर्दछ ।
छद्म नामधारी लेखकले क. मोहनविक्रममाथि आक्रमण गर्नका लागि एउटा यस्तो दार्शनिक सिद्धान्तको नै प्रतिपादन गरेका छन्, जो एउटा वैचारिक दिवालियापनबाहेक केही होइन, जसले वास्तविकतासँग अलिकति पनि मेल खादैन । क. मोहनविक्रम एउटा सामन्तको छोरा भए पनि गत करिब ७ दशकको अवधिमा उहाँको कुन प्रकारको भूमिका रहेको छ ? त्यसको सम्पूर्ण ऐतिहासिक मूल्याङ्कन गरेर नै उहाँका विषयमा कुनै निष्कर्ष निकाल्नु सही हुने छ । तर त्यसका लागि मैले लेखको सुरुमा जोड दिए जस्तो “कुनै निष्कर्षमा पुग्दा पूर्वाग्रह, कुण्ठा, आवेगद्वारा होइन, तथ्यको विश्लेषण गर्दा जुन परिणाम आउँछ, त्यसलाई नै निष्कर्षको रूपमा स्वीकार गर्नुपर्ने हुन्छ” गर्नुपर्दछ । तर लेखक टुप्पीदेखि पैतलासम्म पूर्वाग्रह, कुण्ठा र आवेगले ओतप्रोत भएको हुनाले त्यसरी कुनै निष्कर्षमा पुग्नु उहाँका लागि असम्भव नै हुने छ ।
छद्म नाममा यस प्रकारका लेख लेख्ने जस्ता निम्नस्तरका व्यक्ति नेतृत्वमा पुग्दा पार्टीलाई नोक्सान पुग्ने हुँदा त्यस्ता व्यक्तिलाई निकै पटक सुधार गर्ने प्रयास भएको छ । फेरि पनि सुध्रिन नसक्दा स्पष्टीकरण लिने, चेतावनी दिने र अन्तमा कारबाही गर्ने कार्य भएको छ ।
बुबा मोहनविक्रमको बारेमा निर्णय गर्दै त्यो लेखमा अगाडि लेखिएको छ– “हामीले अहिलेसम्म यस्ता बदनामी मानिस (मोहनविक्रम सिंह) लाई कम्युनिस्ट पार्टीको नेता मानेर महान् भुल गरेका छौँ । भविष्यमा यस प्रकारको गल्ती नदोहोरियोस् भनेर हमेसा सचेत रहनुपर्दछ ।” त्यो लेखको सारतत्व यही हो ।
उक्त लेखकले ‘सर्वहारा वर्गका सच्चा सिपाहीलाई मोहनविक्रम सिंहले कारबाही गरेर फ्याक्नुभएको छ’ भनेर लेखेका छन् । छद्म नाममा यस प्रकारका लेख लेख्ने जस्ता निम्नस्तरका व्यक्ति नेतृत्वमा पुग्दा पार्टीलाई नोक्सान पुग्ने हुँदा त्यस्ता व्यक्तिलाई निकै पटक सुधार गर्ने प्रयास भएको छ । फेरि पनि सुध्रिन नसक्दा स्पष्टीकरण लिने, चेतावनी दिने र अन्तमा कारबाही गर्ने कार्य भएको छ । यस प्रकारको कारबाही पार्टीको समितिमा व्यापक छलफलपछि मात्र अगाडि बढ्ने गरेको छ । भिन्न विचार बोकेकै आधारमा कुनै एउटा व्यक्तिलाई कारबाही गरेको नेकपा (मसाल) को इतिहासमा पाइँदैन र त्यस प्रकारको कारबाही हुने पनि छैन । आठौँ महाधिवेशनको समापनपछि बहुमत र अल्पमतको अस्तित्व नै छैन । अबको नयाँ परिस्थितिमा अल्पमतलाई महामन्त्रीले कारबाही गरे भनेर हल्ला मच्चाउनुको कुनै अर्थ छैन ।
उक्त लेखकले महामन्त्रीलाई आरोप लगाउँदै ‘बाचुन्जेल पार्टी महामन्त्री बन्ने, पार्टीको पैसामा मनपरी गर्ने, बबुल्काउने, आनन्द लिने, आफ्नो परिवार व्यवस्थित गर्ने’ बताएका छन् । लेखकका ती सबै आरोप त्यो सम्पूर्ण लेखका अन्य विषयमा जस्तै तथ्यपरक हुनुभन्दा पूर्वाग्रहयुक्त नै छन् । उहाँले पार्टीको सम्पत्तिबाट आप्mनो परिवारलाई व्यवस्थित पार्ने के कति काम गर्नुभएको छ ? त्यसको एउटा पनि उदाहरण त्यो लेखमा दिइएको छैन । त्यस प्रकारको कुनै उदाहरण दिनु पनि सम्भव छैन ।
एक जना छद्म नामधारीले बुबा मोहनविक्रमको बुटवलमा दुई वटा घर भएको कुरा लेखेका थिए । तर ती घर कहाँ छन् ? त्यसको कुनै प्रमाण दिइएको थिएन । अहिलेसम्म त्यस प्रकारको घरको उदाहरण दिन नसकेपछि पुनः लेखिएको थियो– ‘काठमाडौँमा छिट्टै उहाँको घर बन्दै छ । तर त्यो आरोप लगाएको पनि लामो समय बितिसकेको छ । त्यसरी बन्न थालेको घर काठमाडौँमा कहाँ छ ? घर बनिनसकेको भए पनि त्यसको जग बनेको वा घडेरीसम्म त हुनुपर्ने । तर उनीहरूले अझैसम्म त्यसको पनि कुनै प्रमाण दिन सकेका छैनन् । यो त सी.आइएको जस्तो शैली भयो । त्यो शैलीमा के हुन्छ भने सत्य नभएपनि आरोप लगाउदै जानुपर्छ । एउटा आरोप गलत सावित भए पुनः अर्काे आरोप लगाउँदै जानुपर्छ । त्यही शैलीलाई छद्म नामधारीले पनि अपनाएको देखिन्छ । उनीहरूले कुनै आरोपलाई सत्य प्रमाणित गर्नेतिर प्रयत्न गर्दैनन्† किनभने, कुनै झुटा आरोपलाई सत्य सावित गर्नु सम्भव नै हुँदैन । नयाँ नयाँ आरोप थप्दै भ्रमको वातावरण तयार पार्ने त सिआइए शैलीको भद्दा अनुकरण हो ।
उनीहरूले बारम्बार यो कुरा उठाउने गर्दछन्– “मोहनविक्रम किन लामो समयदेखि नेतृत्वमा बसिरहेको ?”
क. मोहनविक्रम करिब ६ दशकदेखि बिचको करिब केही वर्षलाई छाडेर लगातार केन्द्रीय समितिमा हुनुहुन्छ । त्यसै गरेर उहाँ करिब ४ दशकदेखि पार्टीको महामन्त्रीमा हुनुहुन्छ । के त्यसरी लामो समयसम्म नेतृत्वमा रहनु माक्र्सवादी–लेनिनवादी दृष्टिकोणले गलत हो ?
माक्र्स, एङ्गेल्सहरूले वृद्धावस्थासम्म नै समाजवादी आन्दोलनको नेतृत्व गरिरहनुभएको थियो । लेनिनको हत्या भएकाले उहाँ लामो समयसम्म कम्युुनिस्ट पार्टीको नेतृत्वमा रहन सक्नुभएन तर स्टालिन वृद्धावस्था र जीवनको अन्तसम्म कम्युनिस्ट पार्टी र सोभियत सत्ताको नेतृत्वमा हुनुहुन्थ्यो । माओलाई दक्षिणपन्थी, अवसरवादीले राष्ट्रपतिबाट हटाएका थिए । तैपनि उहाँले जीवनको अन्तसम्म क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहनुभएको थियो ।वास्तवमा राम्रो कुरा यो हो, कुनै कम्युनिस्ट जीवनको अन्तसम्म कम्युनिस्ट आन्दोलनमा सक्रिय हुने प्रयत्न गर्नुपर्दछ । महामन्त्री हुने, केन्द्रीय कमिटीमा बस्ने वा नबस्ने—यी सबै कुरा कसैको व्यक्तिगत सामथ्र्य, क्षमता र पार्टीको निर्णयमाथि निर्भर हुने कुरा हो ।
वास्तवमा राम्रो कुरा यो हो, कुनै कम्युनिस्ट जीवनको अन्तसम्म कम्युनिस्ट आन्दोलनमा सक्रिय हुने प्रयत्न गर्नुपर्दछ । महामन्त्री हुने, केन्द्रीय कमिटीमा बस्ने वा नबस्ने—यी सबै कुरा कसैको व्यक्तिगत सामथ्र्य, क्षमता र पार्टीको निर्णयमाथि निर्भर हुने कुरा हो । एउटा कम्युनिस्टले महामन्त्री भएको बेलामा मात्र होइन, कुनै नेतृत्वमा नरहेको बेलामा पनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्नुपर्छ । बुबा मोहनविक्रमले कैयौँ पल्ट पार्टी सदस्यताबाट निष्काशित भएको बेलामा वा महामन्त्रीबाट हटेको बेलामा पनि आफ्नो जिम्मेवारी पूरा गर्दै आएको उदाहरण हाम्राअगाडि छ ।
यहाँ महत्त्वपूर्ण प्रश्न के हो भने बुबाको व्यक्तिगत इच्छा र चाहनाले पार्टी महामन्त्री भइराखेको हो र ? अवश्य पनि होइन । पार्टीको आवश्यकता र निर्णयको आधारमा यो बिषय टुङ्गिने कुरा हो । आठौँ महाधिवेशनमा उहाँले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन बहुमतद्वारा पारित भएको थियो । त्यो महाधिवेशनमा पेस भएको प्यानल पनि सर्वसमितिले पास भएको थियो र केन्द्रीय कमिटीले उहाँलाई सर्वसम्मतिले महामन्त्रीमा चुनेको थियो । उहाँप्रति कसैको आपत्ति भएको भए त्यो प्यानल तथा उहाँको उम्मेदवारीका विरुद्ध कसैले उम्मेदवारी दिनुपर्दथ्यो । तर कसैले पनि त्यस प्रकारको विरोध गरेका थिएनन् र त्यसरी महाधिवेशनले नै उहाँलाई सर्वसम्मतिले चुनेको थियो । महामन्त्रीको निरन्तरताप्रति आपत्ति हो भने त महाधिवेशनमा उहाँको विरोधमा उम्मेदवारी दिनुपर्ने हो नि ; तर त्यहाँ सहभागी हुनुभएको सबैलाई थाहा छ, नेतृत्वको चयन सर्वसम्मत तरिकाबाट नै भएको हो ।
कथित लेखकले सउदी एकता समाजले बागलुङका बाढीपिडितलाई राहतको लागि पठाएको पैसा मोहनविक्रम र आनन्द शर्माले हिनामिना गरेको आरोप लगाएका छन् । विदेशबाट तथा स्वदेशबाट कुन कुन संस्था र व्यक्तिबाट कति पैसा उठ्यो ? ती पैसा कता कता वितरण भयो ? सबै विवरण उल्लेख गरेर नेकपा (मसाल) ले पुस्तिका निकाल्दै छ । त्यही प्रकारले सउदी अरबबाट मात्र होइन, कुनै देशभित्र वा बाहिरबाट कुने पैसा आएको भए त्यो सम्पूर्ण हिसाबको विवरण त्यो पुस्तिकामा स्पष्टसित दिइनेछ । त्यो पुस्तिकामा कुनै विवरण छुटेमा त्यसमा छलफल वा छानबिन हुन सक्ने छ । त्यसबाट सबै हिसाब प्रष्ट हुने छ ।
वास्तवमा आर्थिक विषयलाई लिएर अहिलेसम्म जति पनि आरोप लगाइएका छन्, त्यसको कुनै आधार छैन । मैले यो कुरा दाबीपूर्वक भन्न सक्दछु कि पार्टीको कुनै पनि रकम वा हिसाब किताब हिनामिना हुने गरेको छैन । नेकपा (मसाल) ले जस्तो अनुशासित रूपमा आर्थिक व्यवस्थापन सायदै अरू पार्टीमा होला । अनि त्यत्तिकै अनावश्यक भ्रम छर्दै हिड्ने ?
यी विभिन्न तर्कले पनि पुष्टि गर्दछ, कथित लेखकको कुतर्कमा कुनै दम छैन । कुनै बेला पार्टीमा बस्दा कुनै व्यक्तिबाट कुनै कुरामा चित्त दुखेको हुन सक्छ । त्यही रिस र आवेगबाट ग्रस्त भएर बनावटी तर्क गर्दै निरन्तर एउटा क्रान्तिकारी पार्टीमाथि आक्रमण गरिरहनु कति जायज कुरा हो ? यस्ता केही अराजक र अनुशासनविहीन मान्छे बोकेर अहिले एउटा क्लबबाट निकै क्रान्तिकारी कुरा गरिँदै छ । तर ती कुराबाट बढीमा फेसबुुके क्रान्ति बाहेक त अरू के सम्भव होला र ? नेतृत्वको चरित्रहत्या गर्दै पार्टी नेतृत्वको विरुद्ध नकारात्मक वातावरण सिर्जना गर्ने प्रयास गरिँदै छ । निष्कर्षमा पुग्ने भनेको तथ्यपरक, तार्किक, वस्तुनिष्ठ, वैज्ञानिक तथा व्यवस्थित दृष्टिकोणका आधारमा नै हो ।
सही र गलतको छिनोफानो कुनै भ्रमपूर्ण आरोपका आधारमा होइन, व्यवहार र सङ्घर्षको बिचबाट नै हुने हो । अन्ततः चरित्रहत्याको राजनीति समाप्त हुँदै जाने, त्यसका विपरीत नेकपा (मसाल) को क्रान्तिकारी विचार, योजना र आन्दोलनले मूर्त रूप लिदैं जानेमा हामी विश्वस्त छौँ ।
लेखक नेकपा (मसाल) को बागमती क्षेत्रका प्रवक्ता हुनुहुन्छ ।