काठमाडौँ । ओमनमा आगामी सेप्टेम्बर १३ देखि २० सम्म हुने विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
उक्त शृङ्खलामा नेपाल, ओमान र अमेरिका सहभागी हुने छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले भदौ ५ गते शनिबार ज्ञानेन्द्र मल्ल कप्तान रहेको १७ सदस्यीय टोली घोषणा गरेको हो ।
उक्त टोलीमा गुल्शन झा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । त्यस्तै, रोहित पौडेलले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमलसिंह ऐरी र शहाब आलम भने अन्तिम टोलीमा परेनन् । क्यानका अनुसार नेपाली टिम आगामी मङ्गलबार ओमन जाँदै छ ।
त्रिकोणात्मक शृङ्खलाअघि नेपालले ओमनमा नै पपुवा न्युगिनीसँग दुई एकदिवसीय क्रिकेट खेल्ने छ ।
घोषणा भएको नेपाली टोलीमा ज्ञानेन्दू मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान) र अन्य खेलाडीहरू कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव रहेका छन् ।
त्यस्तै, टिम पदाधिकारीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियोथेरापिस्ट विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाई गोहित रहेका छन् ।

