काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल जान नौ हजार बढी युवाले आवेदन दिएका छन् । केयर गिभरमा रोजगारीका लागि इजरायलले एक हजार जना नेपालीको माग गरेको छ ।
वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार सोमबार राति १२ बजेसम्ममा ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा ५ हजार ४ सय ९९ जना पुरुष र ४ हजार २ सय जना महिला रहेका छन्।
इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत मात्रै पुरुष लैजाने भएपनि आवेदन दिने भने पुरुष बढी भएका हुन् ।
प्राप्त आवेदनहरुको प्रमाणिकरण सुरु गरिएको विभागले जनाएको छ। प्रक्रिया पुगेर आएका आवेदकलाई मात्रै परीक्षाको तालिका पठाउने र प्रक्रिया नपुगेकालाई यसकारण प्रक्रिया मिलेन भनेर जानकारी गराइदिने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जानकारी दिनुभयो ।
यस्तै विभागले इजरायल जानेका लागि भाषा परीक्षा सञ्चालनका लागि कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग अनुमति माग गरेको छ । विभागले भदौ १५ गतेदेखि २० गतेभित्रमा परीक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेको हो ।
लिखित परीक्षा पास गर्नेलाई अन्तर्वातामा सहभागी गराइनेछ। अन्तवार्तापछि विभागले १ हजार ४ सय जनाको सूची इजरायलाई पठाउने छ ।
असोज पहिलो सातासम्ममा छनोटमा परेका १ हजार ४ सय श्रमिकको सूची इजरायल पठाउने विभागको तयारी छ । असोजभित्रमै श्रमिक पठाउने गरी काम भइरहेको विभागले जनाएको छ । यद्यपी कोरोना संक्रमणका कारण सबै तहका परीक्षा स्थागित भएको अवस्थामा इजरायल रोजगारीका लागि भने परीक्षा हुने वा नहुने अन्यौलमै छ ।