खलङ्गा । बर्सेनि खाद्य सङ्कट झेल्दै आएको जागरकोटको बारेकोटमा खाद्य बैङ्क स्थापना गर्न पहल सुरु भएको छ । विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैङ्क स्थापना गर्न लागिएको होे ।
विभिन्न निकायको सहयोगमा खाद्यान्न भण्डारण गरी प्राकृतिक प्रकोपबाट प्रभावित तथा खाद्य सङ्कट परिरहेका नागरिकलाई खाद्यान्न सहायता गर्न खाद्य बैङ्कको अवधारणा अघि सार्दै काम सुरु गर्न लागिएको छ ।
खाद्य बैङ्क स्थापनाका लागि विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको प्राविधिक सहयोगमा बारेकोट–२ लिम्सामा सामुदायिक खाद्य बैङ्क भवनको निर्माणसमेत गरिएको छ ।
भौगोलिक विकटता, यातायातको असुविधा, न्यून खाद्य, उत्पादन, बाढीपहिरो तथा प्राकृतिक प्रकोप, सिँचाइ सुविधा अभाव आदि कारणले बर्सेनि खाद्य सङ्कट ब्यहोर्दै आएको बारेकोटमा स्थापना हुन लागेको खाद्य बैङ्कले विपन्न तथा सङ्कटासन्न परिवारलाई ठुलो राहत पुग्ने गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो ।
विश्व खाद्य कार्यक्रमको नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले रु ४१ लाख ९५ हजार ८६५ को लागतमा खाद्य बैङ्कका लागि दुईकोठे पक्की भवन निर्माण गरेको छ । उक्त भवनको एक कोठामा खाद्य भण्डारण गोदाम बनाइने छ भने अर्को कोठामा कार्यालय सञ्चालन हुने छ । गाउँपालिकाको समन्वयमा केही समयभित्रै खाद्य बैङ्क सञ्चालनमा ल्याइने छ ।
खाद्य बैङ्क सञ्चालन तथा व्यवस्थापन कार्यविधिसमेत पारित भइसकेको गाउँपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताउनुभयो । (रासस)





