काठमाडौं । जाजरकोट जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर निर्घात कुटपिट गरेका छन् । वडाध्यक्ष नेपालीले स्थानीयवासी प्रेम दमाईमाथि कुटपिट गरेका हुन् ।
वडाअध्यक्षले पशुलाई जस्तै बाँधेर युवकमाथि कुटपिट गरेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । घटना साउन १५ गतेको हो । वडाध्यक्ष नेपालीसँग प्रेमले आफ्नो छोराको लागि बाल पोषणको रकम माग गरेको विषयमा विवाद हुँदा दमाईमाथि कुटपिट गरिएको बताइएको छ ।
युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा राख्दै धेरैले वडाध्यक्षमाथि कारबाहीको माग गरेका छन् ।
जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले कानुनी राज्यको खिल्ली उडाउँदै कानुनलाई हातमा लिएर गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने बताइन् ।
वडाध्यक्ष नेपालीले योभन्दा पहिला गाउँपालिका स्वास्थ्य सहसंयोजक यज्ञश्ववर बस्नेतलाई पनि कुटेका थिए ।