काठमाडौँ । आइतबारदेखि आन्तरिक हवाइ उडानमा लगाइएको कोटा प्रणाली हटाइने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो ।
कोटा प्रणाली हटेपछि आन्तरिक हवाइ सेवा प्रदायकहरूले आश्यकतानुसार उडान गर्न सक्ने छन् ।
वायुसेवा कम्पनीहरूले देशभर बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान सङ्ख्या थप्न माग गर्दै आएका थिए । उडान सङ्ख्या कम हुँदा टिकट पनि महङ्गो भएको गुनासो यात्रुहरूले गर्दै आएका छन् ।
सरकारले यसअघि आन्तरिक हवाइ उडानमा ५० प्रतिशतको सीमा तोकेको थियो । अब आइतबारदेखि यो सीमा हट्ने छ ।
‘अब दैनिक यति नै सङ्ख्यामा उडान गर्ने भनी सङ्ख्या तोकिएको छैन । चाहिने जति सङ्ख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएका छौँ’ महानिर्देशक पोखरेलले भनेका छन् ।
पोखरेलका अनुसार विमानस्थलमा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड भने पूर्ण रूपमा पालना गर्नुपर्ने छ ।