काठमाडौं । इटलियन कम्पनी सीएमसीले हात झिकेपछि अन्यौलनमा परेको मेलम्ची खानेपानी आयोजनाले फेरि तिब्रता पाएको छ ।
आयोजनाको हेड वर्क्स र सुरुङ फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेशनले आयोजनाको कामलाई तिब्रता दिएको हो । सीएमसी २१ डिसेम्वर २०१८ मा आयोजनाबाट भागेको थियो ।
मेलम्ची विकास समितिले ग्लोवल टेण्डरका आधारमा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्न गत असोजमा चिनियाँ ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौतापछि ठेकेदार कम्पनीले निर्माणको काम अघि बढाएको हो ।
गत असोज १० गते मेलम्चीको सुरुङ मार्गको काम र असोज २४ गते हेडवर्क्सको काम चिनियाँ ठेकेदार कम्पनि सिनो हाइड्रोलाई दिने गरी निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो । मेलम्चीको बाँकी काम रु. १ अर्ब ८७ करोडमा सम्पन्न गर्न सिनो हाइड्रोले ठेक्का पाएपछि निर्माणको काम रफ्तारमा अघि बढिरहेको छ । चिनियाँ कम्पनिले सम्झौताको समयावधिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्दतासमेत व्यक्त गरेको छ ।
निर्माण सम्झौतामा हस्ताक्षर भएपछि ठेकेदार कम्पनिले तिहारअघि नै आयोजनाको सम्पूर्ण अवस्थाको स्थलगत जानकारी लिएको थियो। निर्माण सम्झौतामा हस्ताक्षर भएको तीन हप्ता नपुग्दै सिनो हाइड्रोले निर्माण कार्यमा गुणात्मक प्रगति गरेको छ ।
सिनो हाइड्रोले रक डावेलको काम सुरु गरी हेड वर्क्सको फाउण्डेशन ब्लाष्टिङको तयारी गरिरहेको छ । तीन हप्ताको अवधिमा टनेलभित्र ग्राउटिङको काम पनि सुरु भइसकेको छ ।
श्रेष्ठका अनुसार ब्लाचिङ् प्लानका लागि ३० घनमिटरको मेशिन जडान गरी मिक्सिङको काम तयारी अवस्थामा रहेको छ ।
अघिल्लो ठेकदार कम्पनि सिएमसीले स्थानीय कामदारलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व नेपाल सरकारले लिन तयार भएपछि आयोजनाको स्थानीय अवरोध हटेको थियो।
