बेइजिङ । चीनमा झन्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न राहत सुविधा प्राप्त गरेका छन् ।
सरकारले बिहिबार सार्वजनिक गरेको श्वेतपत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरूले नर्सिङ सुविधासमेत पाएको उल्लेख छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको राज्यपरिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको मानव अधिकारसम्बन्धी दस्तावेजमा राज्यका सबै नागरिकलाई समान व्यवहार र सम्मान प्रदान गरिएको बताइएको छ ।
यसैबिच, एक करोड ४८ लाख ज्येष्ठ नागरिकले खाद्यान्न सहायता तथा अति कठिनाइको सामना गरिरहेका ३८ लाख ज्येष्ठ नागरिकलाई विशेष अनुदान सहायता प्रदान गरिएको छ ।
२०२१ को मार्च महिनामा चीनका तीन लाख ३० हजारभन्दा बढी संस्थाले ज्येष्ठ नागरिकका लागि अस्पतालमा ८२ लाखभन्दा बढी सैया उपलब्ध गराएको पनि श्वेतपत्रमा उल्लेख छ ।
यसैगरी, चीनका जनताको औसत आयु २०१९ मा ७७.३ वर्ष पुगेको पनि श्वेतपत्रमा जनाइएको छ । १९४९ मा चीनमा औसत आयु ३५ वर्ष मात्र थियो ।
मातृ तथा प्रसूति मातृ मृत्युदर पनि घटेको छ । प्राप्त विवरणमा प्रति एक लाखमा १७.८ मातृमृत्यु रहेको छ भने शिशु मृत्युदरमा पनि प्रति एक लाखमा ५.६ रहेको छ । (रासस–सिन्ह्वा)





