वीरेन्द्रनगर । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ ।
लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरूको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो ।
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताउनुभयो । एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखिएको उहाँको भनाइ छ । मन्त्री बुढा क्षेत्रीले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षाको प्रबन्ध तथा छाना, नाना र खानाको व्यवस्थापनलगायतका विषयहरू नीतिभित्र समेटिने बताउनुभयो ।
“राउटेका आफ्नै मूल्यमान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरूको सामाजिकीकरणमा मन्त्रालयले काम गर्ने छ” उहाँले भन्नुभयो– “पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिले गरेको बलात्कार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिको प्रवेश निषेध आवश्यक रहेको महसुस भएको छ ।”
उहाँले बालबालिकामा रहेको कुपोषण न्यूनीकरण गर्न र उनीहरूको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभयो ।
सो मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरूको संरक्षण आवश्यक रहेको बताउनुभयो । “नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो” सचिव काप्रीले भन्नुभयो– “परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटेसम्बन्धी नीति तयार गरिरहेका छौँ ।”
प्रमुख जिल्ला अधिकारी छवि रिजालले राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती सिल गरिएपछि धेरै विकृतिको अन्त्य भएको बताउनुभयो । उहाँले युट्युब, फेसबुक, टिकटकलगायत बनाउन जानेका कारण पनि राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलवाड भइरहेको बताउनुभयो ।
गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा बिसीले कर्णाली प्रदेश सरकारले राउटेको अभिभावकत्व लिनुपर्ने बताउनुभयो । (रासस)