काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले बाढीपहिरोपीडितलाई उद्धार र राहत प्रदान गर्न सरकारसित माग गरेको छ ।
बाढीपहिरोपीडित मृतकप्रति श्रद्धा तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूले वक्तव्यमा विपत्तिमा परी घाइते बनेकाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
वक्तव्यमा विकासको नाममा प्रकृतिको जथाभावी दोहन नगर्न, बाढीपहिरोविज्ञको सरसुझावको बेवास्ता नगर्न र पर्यावरण र जलाधार बिगार्ने सरकारी हचुवा नीति र प्रवृत्ति रोक्न तथा जनतालाई सुरक्षित बस्तीमा राख्ने ठोस र प्रभावकारी प्रबन्ध गर्न पनि राज्यसँग माग गरिएको छ ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षरमा २०७८ असार ५ गते जारी संयुक्त प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
“अविरल वर्षाका कारण बाढीपहिरो डुबानमा परेर देशका विभिन्न जिल्लामा धनजनको ठुलो क्षति भएको स्थितिमा हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा) अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घ कोरोनामा महामारीको सन्त्रासका बिच पुनः यो प्राकृतिक विपत्तिमा परेर जनधन गुमाएका सम्पूर्ण परिवार, खासगरी किसान मजदुर परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछौँ । मृतकहरूप्रति श्रद्धा व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ । विपत्तिमा परी घाइते बनेकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
यस विपत्तिमा परेका परिवारको यथाशीघ्र उद्धार गर्न र उचित राहत तथा उपचार प्रदान गर्न र पीडित परिवारलाई यथेष्ठ क्षतिपूर्ति प्रदान गर्न तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्न राज्यसँग जोडदार माग गर्दछौँ । साथै किसान सङ्गठनमा आबद्ध सबैलाई उद्धार र राहत कार्यमा आफ्नोतर्फबाट जेजस्तो सहयोग पु¥याउन आग्रह गर्दछौँ ।
साथै विकासको नाममा प्रकृतिको जथाभावी दोहन गर्ने, बाढीपहिरोविज्ञको सरसुझावको बेवास्ता गर्ने र पर्यावरण र जलाधार बिगार्ने सरकारी हचुवा नीति र प्रवृत्ति रोक्न र जनतालाई सुरक्षित बस्तीमा राख्ने ठोस र प्रभावकारी प्रबन्ध गर्न पनि राज्यसँग हामी जोडदार माग गर्दछौँ ।”