लन्डन । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरू सहभागी भएको “सम्पन्न सात” (जी–७) को सम्मेलन स्थलनजिक म्यान्मारका आप्रवासीले प्रदर्शन गरेका छन् ।
बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थलनजिक प्रदर्शन गरेका हुन् । शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेली सहभागी भएको समाचारमा जनाइएको छ ।
बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दबाब दिन पनि जी–७ का नेतालाई आग्रह गरेका थिए ।
प्लेकार्डसहित उपस्थित भएका उनीहरूले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए ।
प्रदर्शनमा सहभागी एक बर्मेली युवाले भने– “म्यानमारमा भएको सैनिक शासनका विरुद्धमा र लोकतन्त्र पुनस्र्थापनाका लागि बोल्न मात्रै होइन, काम पनि गर्न हामीले जी–७ का नेताहरूको ध्यानाकर्षण गराउन खोजेका हौँ, त्योअनुसार केही काम हुने अपेक्षा गरेका छौँ ।”
प्रदर्शनमा सहभागीहरू आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए ।
म्यान्मारमा गत फेबु्रअरी १ देखि सैनिक शासन लागु भएको छ । सेनाले सरकार तथा दलका नेताहरूलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ ।
हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनुपरेको स्पष्ट पार्ने गरेको छ । त्यतिबेलाको निर्वाचन निश्पक्ष नभएकाले अब निस्पक्ष निर्वाचन गराउने सेनाको दावी छ । त्यसका लागि एक वर्षे सङ्कटकालसमेत घोषणा गरिएको छ ।
सेनाले सत्ता हातमा लिएपछि त्यसका विरुद्धमा म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु पनि भएको छ । (रासस–एएनआई)