काठमाडौं । आगामी मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले बाग्लुङ २(ख)मा प्रदेश सभा सदस्यको उम्मेद्वारका रुपमा खिमविक्रम शाहीलाई अगाडि सारेको छ । मंगलबार अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा बाग्लुङ २ (ख) मा शाहीसहित प्युठानको ऐरावति गाउँपालिकाको २ नं. वडा अध्यक्षको उम्मेदवारको घोषणा गरिएको छ ।
राजमो र नेकपाबीच तालमेल रहेको बाग्लुङको क्षेत्र नं २(ख) को निर्वाचनलाई महत्वका साथ हेरिएको छ । सो स्थानमा यसअघि पनि राजमो नेता टेकबहादुर घर्ती निर्वाचित हुनुभएको थियो । घर्तीको निधनपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
२०२७ सालमा बाग्लुङ जिल्लाको बोहरा गाँउमा जन्मिएका शाहीले पञ्चायतकालदेखी नै राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । प्रभा माविमा अध्ययन गर्दा नै अखिल (छैठौं) को बिद्यालय इकाई समितीमा संगठित शाही अखिल नेपाल युवक संघका विभिन्न जिम्मेवारी हुँदै हाल राष्ट्रिय जनमोर्चाको बाग्लुङ जिल्ला समिति सचिवालय सदस्यका रुपमा कार्यरत हुनुहुन्छ ।
यता प्युठानको ऐरावति गाउँपालिकाको २ नं. वडा अध्यक्षको लागि राजमोले भक्त बहादुर विकलाई उम्मेदवार बनाउने बनाउने भएको छ। उहाँलाई पनि नेकपाले समर्थन गरेको राजमोले जनाएको छ। राजमोले केन्द्र र प्रदेशका अन्य स्थानमा भने नेकपाका उम्मेदवारलाई सघाउने भएको छ ।
नेकपाले यसअघि कास्की क्षेत्र नं २ मा विद्या भट्टराई, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाल (डिपी) लाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । मंसिर १४ मा विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।