अनिलकिशोर घिमिरे ##
२०७८ वैशाख २ गते दिउँसोदेखि हल्का घाँटी दुख्न थाल्यो । साँझपख त ज्यानै दुख्यो । बेलुकी नजिकैको लुम्बिनी तन्दुरीमा रोटी खाएँ । कोठामा आएर तातोपानीको बाफ लिएँ । अनि, ज्वानो, बेसार पकाएर खाएँ । ज्यान पूरै कमजोर भएको महसुस भएको थियो । राती निद्रा लागेन, बरु ज्वरोसमेत आएर छट्पटी भयो ।
बागबजारको गल्ली न हो, कोठाको दुबैतिर झ्याल भए पनि हावा छिर्दैन । जसोतसो रात बित्यो । अर्को दिन बिहान यसो मेडिकलतिर गएर सल्लाह लिनुपर्यो भन्दै निस्किएको थिएँ, नारायण आचार्यजी भेटिनुभयो । उहाँलाई पनि धेरै गाह्रो भएको र बागबजारको एउटा मेडिकलले दिएको औषधि खाएपछि निको भएकोसुनाउनु भयो । म त्यतै हान्निएँ । मेडिकलमा प्रारम्भिक चेकजाँच गरेपछि अहिले व्यापक भएको भाइरल हो, कोभिड चेक गराउनुभयो भने पोजेटिभ देखाइहाल्छ । यो औषधि खानुभयो भने तीनचार दिनमा ठिक हुन्छ भन्ने सल्लाह पाइयो ।
त्यतिबेलासम्म हल्का खोकी पनि लागिसकेको थियो । कोठामा खाना पकाउने अवस्थासमेत भएन । बाहिरै खाना खाएर कोठामा गएर आराम गरेँ । औषधि खाएर आराम गरेपछि शरीर धेरै हल्का भयो । राती पनि ज्वरो आएन । निद्रा पनि लाग्यो । ज्यान हल्का भए पनि सुख्खा खोकी लागिरहेकाले कोभिड भएको भए त त्यहीअनुसार सुरक्षाको मापदण्ड अपनाउनुपर्छ भनेर टेकुस्थित केन्द्रीय प्रयोगशालामा चेकजाँच गराए । दिउँसो नै मोबाइलमा पोजेटिभ भएको म्यासेज बज्यो ।
बागबजारको भिडभाड, एक्लै बजार जाउआउ, धेरै जनाले प्रयोग गर्ने एउटै ट्वाइलेट, घरबेटीलगायतको दबाब आदि तनाव झेल्नुभन्दा घरमा गएर परिवारको सहयोगसहित आइसोलेसनमा बस्दा उपयुक्त हुने ठानेर बेलुकी नै एउटा गाडीसँग सल्लाह गरी पाल्पा गएँ ।
रातीको चिसो हावाले अलि असर गरेछ । खोकीको मात्रा बढ्दै गयो । त्यति बेलासम्म ज्वरो सन्चो भइसकेको थियो । टाउको दुख्ने, आँखा दुख्ने, शरीर दुख्नेसमेत निको भएको थियो । एक पटक छातीको एक्सरे गराउनुपर्यो भनेर श्रीमतीलाई जिल्लास्थित सरकारी अस्पतालमा सोध्न पठाए । त्यहाँका कर्मचारीले कोभिड बिरामीको एक्सरे हुन्न भनेर पठाइदिएछन् । रिस त साह्रै उठ्यो । सरकारले, सरकारी पार्टीका नेताहरूले दिनदिनै कोभिड उपचारका सम्बन्धमा यो गर्यौं, त्यो गर्यौं भनेर भाषण गरेकोगर्यै छन् । तर जिल्लाकै सरकारी अस्पतालको त्यो अवस्था देखेर सरकारप्रति घृणा जागेर आयो । आफू कोभिड पोजेटिभ भएकाले बाहिर यत्तिकै निस्कने वा अरू केही गर्न सक्ने अवस्था थिएन ।

ज्यान फेरि गल्दै गयो । श्वासप्रश्वासमा समस्या आउँदै गयो । सुख्खा खोकी लामो समयसम्म आउन लाग्यो । छाती दुख्न लाग्यो । अक्सिजनको मात्रा घट्दै गयो । घरमा बसेर मात्र हुन्न, अब अस्पताल जानुपर्ने सबैको सल्लाहअनुसार लुम्बिनी मेडिकल कलेजमा भर्ना भएर उपचार गर्ने गरी गइयो । त्यहाँ आवश्यकतानुसार बेडको उपलब्धता हुने गरी प्रशासनसँग कुरा गरी गइएको थियो ।
इमर्जेन्सी रूपमा गएको बिरामीलाई समेत कर्मचारीले गरेको व्यवहार हेर्दा एक मिनेट पनि त्यहाँ बस्दा ज्यान जोखिममा पर्ने महसुस भयो ।
डक्टर हुन् या नर्स हुन् वा अरू कोही, उनीहरूले ढोकाबाहिरबाटै अक्सिमिटर फालिदिएर कुरुवालाई अक्सिजन हेर्न लगाउने, प्रेसर जाच्ने साधन बाहिरबाटै फाल्दिने र हेर्न लगाउने गर्न थाले । बिचरा कुरुवाले के जानेको हुन्छ र हेरेर रिपोर्ट भन्छ ? त्यस्तो गैरजिम्मेवार व्यवहार देखेर प्रशासनमा फोन गरी भन्दा हामी भनेका छौँ, डाक्टर आइहाल्नुहुन्छ भन्ने उत्तर आउँछ । तर डाक्टर आउँदैनन् । करिब एक घण्टा यस्तै गरी बित्यो । अरू बिरामीलाई पनि उस्तै व्यवहार थियो ।
हेर्दाहेर्दै एक जना अक्सिजन छुटाउन नमिल्ने गरी अक्सिजनसहित बुटवलमा बेड नपाएर एम्बुलेन्समा कपिलवस्तु घर भएका बिरामी आए ।
ती बिरामीलाई अक्सिजन लगाइदिनसमेत स्टाफ नआएर ढोकाबाटै पाइप फालिदिएको र बिचरा कुरुवा आएकी बुढीआमालाई पाइप लगाइदिन भनेको दृश्यले अस्पतालमा मान्छे एकाएक मर्ने त यसरी पो हो कि भन्ने मनमा खेल्न थाल्यो । म अलि सामाजिक क्षेत्रमा काम गरेको र अस्पताल प्रशासनसँग सिधा पहुँच राख्ने मान्छेलाई समेत त यो व्यवहार भयो भने अरू साधारण मान्छेको अवस्था के भएको होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
त्यो दृश्य हेर्दाहेर्दै उक्त अस्पतालमा भर्ना भएर बस्ने कुरा त भएन । तर पनि एउटा छातीको सिटिस्क्यान वा साधारण एक्सरेसमेत गरेर घर जान पाए त्यहीअनुसार औषधि चलाउन सकिन्थ्यो भनेर आग्रह गरियो । तर बिरामीको भर्ना गरेर २५ हजार डिपोजिट नराखिकन एक्सरे पनि गर्न सकिन्न, यो यहाँको सिस्टम हो भन्दै जवाफ आयो । यसरी अस्पताल चलाएको नाममा मानव स्वास्थ्यमाथि खेलवाड गर्ने र चर्को रकम असुल्ने अपराधीको बारेमा आफू सन्चो भएपछि खबरदारी गर्ने अठोटका साथ घरमै जाने र अरू ठाउँमा उपचारको विकल्प खोज्ने गरी त्यहाँ बाट घर फर्कियौँ ।
लुम्बिनी मेडिकल कलेज परिवारसँग मेरो अत्यन्तै नजिकको सम्बन्ध छ । केही वर्षअगाडि मेरै बुबालाई एक महिनाजति त्यहीँ भर्ना गरेर सन्चो गराई निकालिएको थियो । कैयौँ बिरामीलाइ मैले नै लगेर उपचार गराइएको छ । म र मेरो परिवार पनि अन्य समयमा नियमित उपचार गराउन त्यहीँ जान्छौँ । तर यस पटकको व्यवहार साँच्चै निन्दनीय थियो ।
त्यतिबेलासम्म अक्सिजनको मात्रा एकदम घटेको थिएन । तर सास फेर्न गाह्रो हुँदै थियो । खोकी झन् बढ्दै गएको थियो । अर्को दिन तानसेनकै मिसन अस्पतालमा जाने सल्लाह भयो ।
एक जना कर्मचारीको सहयोगमा बेड त पाइयो तर भर्ना हुनका लागि धेरै दबाब दिनुप¥यो । एक्सरे र अन्य सामान्य ल्याब रिपोर्ट हेरेपछि डाक्टरबाट निमोनिया भएको र जति बेला पनि आइसियु वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था हुन सक्छ, भेन्टिलेटर उपलब्ध गराउने अवस्थामा हामीसँग उपलब्ध छैन, एक्कासि अरू ठाउँमा जानुपर्ने हुन सक्छ, आफै विचार गर्नू भन्ने सल्लाह आयो । एक त अस्पतालले धेरै दबाबपछि मात्र भर्ना लिएको, अर्कोतिर यस्तो सल्लाह दिएपछि सामान्य उपचारले हुँदैन, छिटो काठमाडौँ जानुपर्छ भन्ने निर्णयमा पुगियो ।
काठमाडौँमा पार्टीका साथीहरूले अस्पतालतिर बुझ्दा ठुला र राम्रा भनिने ग्रान्डी, मेडिसिटी, हम्सलगाएत कुनै अस्पतालमा बेड खाली छैनन् भन्ने खबर आयो । चितवनमा बेड पाउन सक्ने र पछि खाली हुँदासाथ काठमाडौँ जान सजिलो हुने गरी सल्लाह भएछ । तर मेरो मनले चितवन जान मानेन । पहिले पहिले धेरै बिरामीलाई भर्ना गर्ने, परिवारलाई धेरै कुराको जानकारी नदिने, पैसा असुल्नसमेत असुलेर अन्तिम अवस्था भएपछि अर्को ठाउँ रिफर गर्ने वा घर पठाउने गरेका थुप्रै उदाहरण छन् चितवनका अस्पतालमा । त्यही सम्झेर पोखरातिर फोन लगाए । केही समयअगाडि बागलुङ बरेङका पालिकाध्यक्ष मेरो मित्र कृष्ण पौडेल पनि मेरोजस्तै केसमा उपचार गराएर निको भएको अस्पताल थियो पोखरामा । विक्रमजी र आकाजीलाई सम्पर्क गर्दा त्यहाँ बेडको व्यवस्था हुने भयो । साथीहरूको सिधा सहयोग हुन सक्ने र सम्पर्क भएको अस्पताल भएपछि अझै राम्रो हुने भयो ।

राती नै पोखरा जानका लागि एम्बुलेन्स खोज्दा अक्सिजनसहितको एम्बुलेन्स पाउनै गाह्रो । बल्लतल्ल एम्बुलेन्सको व्यवस्था भयो । मिसन अस्पतालबाट बाहिर निस्कदा अँध्यारो भइसकेको थियो । नाकमा अक्सिजनको पाइप लगाएर एम्बुलेन्समा बस्दा एकाएक सन्नाटा छाएको थियो । कहिल्यै मम्मी वा बाबाको साथ नछोडेको आठ वर्षको छोरो अनिस मनिलो अनुहार लिएर साली सन्जुसँग घर फर्कियो ।
राती नै पोखरा मेडिप्लस अस्पतालमा पुगियो । अस्पतालको गेटमै साथीहरू विक्रम र आकास त हुनुन्थ्यो नै । आफ्नै साथीहरूले पर्खेजस्तै गेटमै बसेका डाक्टर र नर्सले समेत बाहिरै अक्सिजन सिलिन्डर ल्याएर मलाई अडाएर ससम्मान भित्र लगे । मुख्य डाक्टर सरोजले मेरो प्रारम्भिक अवस्थाबारे जानकारी लिए र तत्काल गर्नुपर्ने कामबारे नर्सलाई अह्राएर गए । अर्को दिनसम्म मलाई सामान्य अक्सिजनमै राखियो ।
सिटिस्क्यान गरेपछिको रिपोर्ट हेरेपछि डाक्टर अलि आत्तिएजस्तो गरे र आइसियुमा सार्न लगाए । रिपोर्टबारे बुझ्न खोज्दा सामान्य अवस्था त होइन, तर पनि एकदुई दिन छिटो आउनुभएको छ, हामी प्रयास गर्छौं भन्दै थिए । फोक्सोको एकतिहाइ भागमा असर भइसकेको रहेछ ।
डाक्टरको उक्त कुरा सुन्दा झल्याँस्सै पाल्पा अस्पतालले एक्सरे नगरिदिएको र मेडिकल कलेजले बिरामीको अवस्थामाथि खेलवाड गरेको दृष्य सम्झेँ । ती अस्पतालले समयमै उपचार र छातीको एक्सरे गरेर हेरिदिएको भए निमोनियाले यो अवस्थामा विकास गर्ने थिएन । तत्काल उपचार गर्न सकिन्थ्यो । अझै केही दिन त्यतै अलमलिएको भए स्थिति खतरापूर्ण रहेछ । झन्न समयमै ठिक निर्णय गरिएछ ।
डाक्टरले तत्काल हाइफ्लो अक्सिजनमा राख्न लगाए । कोभिड आइसियुमा सबैजसो बिरामी सिरियस भएरै ल्याइन्थ्यो । अझ हाइफ्लो अक्सिजन सामान्य अवस्थामा लगाइदैन ।
यता, देशभरबाट मेरो स्वास्थ्यको बारेमा चिन्ता गर्दै फोनका घण्टी बजेकोबज्यै हुन्थे । मलाई कुरा गर्नसमेत गाह्रो भइसकेको थियो । श्रीमतीले एउटा फोनमा कुरा गर्दा पाँच वटा मिस्डकलका म्यासेज बज्थे । उनले कुनै कसर बाँकी नराखी मेरो स्याहार गर्दै गइन् ।
विक्रमजीले बिहानमा प्रत्येक दिन मेरा लागि विभिन्न सुपसहित खाना ल्याइदिई भेट्न आउनुहुन्थ्यो । आकासजीले आफ्नो ड्युटीकै बिचमा समेत आएर सान्त्वना दिनुहुन्थ्यो । भीमसेनजीलगायत सङ्गठनका साथीको सहयोगले आँट दिन्थ्यो । सन्तोष ज्वाइँसाब केही दिन अस्पतालमै बसेर आर्थिकलगायतको बाहिरी ब्यवस्थापन मिलाइदिनुभयो । बुबाआमालगायत आफन्तजन र धेरै साथीहरू लकडाउन र कोरोना कहरको कारण चाहेर पनि भेट्न जान सक्नुभएन । धेरैले सामाजिक सन्जालबाटै स्वास्थ्यलाभको कामना गर्नुभयो । पछि त कुरुवाकक्षबाटै मेरो मोबाइल चोरी भएछ । त्यसबाट मेरा धेरै सम्पर्क हराए ।
साथीहरूले अरू कुरा केही नसोच्नुहोस्, आफूलाई मात्र केन्द्रमा राखेर आफू सन्चो हुने मात्र सोच्नुस् भनेर सल्लाह दिनुन्थ्यो । सङ्गठनका साथीहरू बिचबिचमा आएर सहानुभूति प्रकट गर्नुहुन्थ्यो । मेरो बेडका छेउछाउमा बिरामी छट्पटिरहेका हुन्थे । कतिपयको त मृत्यु भइसकेको हुन्थ्यो । प्लास्टिकले बेरेर सुतिरहेको मान्छे उठाएर बाहिर लगेको देख्दा मन आत्तिएजस्तो हुन्थ्यो । भर्खर बोलिरहने मान्छे कसरी म¥यो होला भन्ने लाग्थ्यो । मभन्दा टाठा मान्छेहरूसमेत एकाएक मरिरहेका थिए । आइसियुका सबै बेडहरू मृत्युसैया पो हन् कि भन्ने हुन्थ्यो । तर मलाई जसरी नै बाँच्नुथियो । मृत्युसैयाबाट जसरी पनि जनरल बेडमा सर्नुथियो । म कठोर बन्थेँ र मनलाई सम्हाल्थेँ ।
फार्मेसीबाट प्रत्येक दिन श्रीमतीले एक झोला औषधि लिएर आउँथिन् । त्यो मेरै शरीरमा राखेर सकिन्थ्यो । औषधिको कारण रगत बाक्लो भएर साइड इफेक्ट हुने डरले रगत पातलो बनाउनको लागि भन्दै सायद १९ दिनमा १९ वटै सुई पेटमा धसिए होलान् । हातमा सुई खोपिएका दर्जनौँ दाग मेटिन त केही समय लाग्ला ।
कोभिड छिटो निको बनाउनका लागि भन्दै दिइएको छ डोजको रेम्डेसिभिर औसधिले त पखाला नै लगायो । मेरो अध्ययनअनुसार उक्त औषधि अन्य रोगको लागि दिने गरिन्थ्यो । अहिले कोभिडमा प्रयोग गर्ने गरिएको छ । तर पनि डक्टरले भनेका सबै कुरा इमान्दारिताका साथ पालन गरेँ ।
यता, साथीहरूले अनुभवको आधारमा औषधिअनुसार खानाको डाइट पेल्नुपर्छ भनिरहन्थे । डाक्टरले पनि प्रत्येक दिन खानाको रुचि बढाउने र आधा निको हुने आफै हो भन्दै सम्झाउथे । मैले खाना खानलाई सुरुको दुईतीन दिनबाहेक जोड गरिरहेँ । मैले छिटो रिकभर हुन जे गर्नुपर्छ, त्यसमा कमी हुन दिनुहुँदैन भन्ने सोच राखेँ । अरू बाहिरी दुनियामा के भएको छ ? कति जना कोभिडका बिरामी थपिए वा कतिको मृत्यु भयो । या राजनीतिक अवस्था केकसो छ ? त्यसबारे कुनै चासो दिइनँ ।
प्रायः निद्रा लाग्ने थिएन । कति कति बेला निद्रा लाग्दो रहेछ ? निद्राबाट ब्युझिँदा दिउसो हो वा राती हो ? अड्कल गर्न गाह्रो पर्दथ्यो । मेरा लागि दिनरात उस्तै हुन्थ्यो । निदाएका बेला नाकमा लगाइएको अक्सिजनको पाइप निस्केर खतरा पो हुने हो कि भन्ने डर लाग्थ्यो ।
टाउकोमाथि राखिएको स्क्रिनमा पटक पटक अक्सिजनको मात्रा हेरिरहन्थेँ । कहिलेकाहिँ ९० भन्दा कम देखाउदा डर लाग्थ्यो । अनि, घोप्टो परेर सुत्थेँ । फेरि बढ्दै जाँदा ढुक्क हुन्थेँ । खर्च महङ्गो लाग्छ त्यो अस्पतालमा भन्ने पहिले नै सुनेको थिएँ । तर पहिले ज्यान ठुलो हो ।
बाँचेपछि केही गरिन्छ भनेर त्यता ध्यान केन्द्रित गरिनँ । पछि डिस्चार्ज हुँदा सुन्दै थिएँ, सोचेकोभन्दा धेरै बढी खर्च लागे छ ।
पछि शरीरले घण्टा घण्टामा भोक लाग्ने र खाना माग्न थाल्यो । कोभिड निमोनिया र त्यसलाई निको पार्ने हाइडोजको निमोनियाको औषधि र हाइफ्लो अक्सिजनले ज्यान थिलोथिलो पारेको थियो ।
१६ गतेको रिपोर्टमा नै कोभिड नेगेटिभ आइसकेको थियो । तर पनि निमोनिया अलि खतराको बिन्दुमा पुगेकाले उपचार त्यहीअनुसार गर्नुपथ्र्याे । सुरुका दिनमा प्रत्येक आधा घण्टाको बिचमा मुख सुकेर पानी खाने मन लाग्थ्यो । श्रीमतीले त सायद कुनै दिन सुत्न पाइनन् । कुनै बेला नर्सलाई त कुनै बेला श्रीमतीलाई बोलाउँथे । आइसियुमा भित्र बस्न, सुत्न नपाए पनि आवश्यकतानुसार कुरुवालाई भित्र पस्न दिइन्थ्यो ।
प्रायः दिसापिसाब गराउन नर्ससँग अप्ठ्यारो लागेर श्रीमतीलाइ नै बोलाउँथे । कतिपय बेला बाहिर कुर्सीमै निदाएर बोलाउँदा पनि श्रीमतीले नसुन्दा नर्सलाई वा सहयोगीलाई नै बोलाई अप्ठ्यारो मानी मानी दिसापिसाब गर्थेँ ।
अक्सिजन सिलिन्डर आफैमा धेरै वजनको हुन्छ । बिचरा नर्सहरूले जसरी नि बिरामीको स्याहार गर्नुपर्छ भन्दै सिलिन्डर बोकेरै बिरामीलाई अड्याउदै ट्वाइलेटसम्म पुग्थे र एकछिन कुरेर सिलिन्डर बोकेर बेडसम्म ल्याइदिन्थे । बिजुली गएर हाइफ्लो बन्द हुँदासाथ जहाँ भए पनि बिजुलीकै गतिमा बिरामी भएको ठाउँमा आएर हतार हतार सिलिन्डरबाट अक्सिजन लगाइदिदाको दृष्यले अत्यन्तै खुसी लाग्थ्यो । यिनीहरू (नर्स) ले हामीलाई यत्तिकै मर्न दिदैनन् भन्ने लाग्थ्यो । उनीहरूको त्यो हतार आफ्नै दाजुभाइ सम्झेर हामीप्रति गरेको कर्तव्य हो । यो लगाव धेरै कम ठाउँमा मात्र देख्न पाइन्छ ।
अक्सिजन सकिँदा वा बिजुली गएर बन्द हुँदा भएको त्यो दौडधुपलाई जति सम्मान गरे पनि कम हुन्छ । त्यहाँ कोभिड लागेको र अन्य बिरामी भन्ने कुनै फरक ब्यवहार गरिने थिएन । सायद नर्सहरूको त्यही बिरामीप्रतिको लगावले, त्यही सहानुभूतिले नै केही हौसला बढाउँथ्यो । डाक्टर सरोजको मिजासिलो प्रस्तुतिले बाँच्ने आधार प्रदान गथ्र्यो ।

कोभिड नेगेटिभ आए पनि अन्य आइसियुमा बेड खाली नभएर कोभिड आइसियुमै धेरै दिन बस्नुप¥यो । आइसियु वार्डमा भेन्टिलेटरसमेत नजिकै थियो ।
प्रत्येक दिनजसो बिरामी ढलिरहेका देखिन्थे । आखिर मान्छेको जिन्दगी के नै छ र भन्ने हुन्थ्यो । तर आफूलाइ जसरी नि सम्हाल्नुपथ्र्यो र फेरि जीवन बाचेर समाजमा केही योगदान गर्नुपर्छ भन्ने लाग्थ्यो । आफूलाइ सम्हाल्दै गएँ । कठोर बनाउदै गएँ । सायद मुटु कमजोर भएको वा धेरै तनाव लिने मान्छे त्यो नियमित दृश्य हेर्दाहेर्दै हर्टअट्याक भएरै मर्ने सम्भावना हुन्छ । कतिपय रिकभर हुन लागेका बिरामी त्यसरी नि मरेका उदाहरण प्रशस्त छन् ।
१७ दिनको आइसियु बसाइ र दुई दिनको जनरल वार्डमा बसेपछी अक्सिजनबिना हल्का अडिन, हिड्न थालेँ । खोकी सन्चो भयो । नर्मल एक्सरेमा सुधार भएको देखियो । १० दिनजतिको लागि औषधि लिएर मेडिप्लस अस्पतालबाट डिस्चार्ज भएँ । मेरो सालाहरू लक्ष्मण र सुदीप गाडी लिएर गएका थिए । वैशाख ३१ गते १९ दिनपछि घर फर्कियौँ ।
अन्त्यमा मेरो उपचारमा संलग्न चिकित्सक, नर्सलगायत अस्पताल परिवार, नियमित हौसला प्रदान गर्ने साथी, पार्टीनेतृत्व, आफन्तजन तथा स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।