काबुल । अफगानिस्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबान विरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् ।
अफगान सैनिक अधिकारीले बिहिबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरू लुकेर बसेको सूचनाका आधारमा आतङ्ककारीका विरुद्धमा हवाइ कारबाही गरेको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एकजना तालिबानका कमान्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमान्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेको बताइएको छ ।
सो प्रान्तको सैन्य सङ्गठनका प्रवक्ता मोहमद हनिफ रेजाईले सो घटनाको पुष्टि गर्नुभएको छ । यहाँको सेना र प्रहरीले उक्त जिल्लामा हवाइ हमला गरेको थियो । उहाँले ती कमान्डरसहित १८ जना सो कारबाहीमा मारिएका बताउनुभयो ।
यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । त्यसै स्थानमा अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिनअघि पनि दर्जनौँ आतङ्ककारी मारिएका बताइएको थियो ।
पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ । (रासस/सिन्ह्वा)





