नयाँदिल्ली । भारतमा चिकित्सकमाथि आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आसामका मुख्यमन्त्री हिमन्तविश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिनुभयो ।
होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट सङ्क्रमित एक बिरामीको मृत्यु भएपछि गत मङ्गलबार डा. सेउजकुमार सेनापतिमाथि आक्रमण भएको थियो ।
चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ ।
स्थानीय प्रहरी अधिकारीहरूले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् ।
‘घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ’ मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेख्नु भएको छ ।
महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्करज्योति महन्तले बताउनुभयो ।
उहाँमाथिको आक्रमण सबै अग्रपङ्क्तिका सेवकमाथिको आक्रमण भएको र त्यसले अरूलाई पनि निरास बनाउन सक्ने खतरा भएको महन्तको भनाइ थियो । (रासस/पिटिआई)