काबुल । अफगान सेनाको हवाइ कारबाहीमा २३ जना तालिबानी लडाकुको मृत्यु भएको सेनाले जनाएको छ ।
Advertisement
अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकुलाई लक्षित गरी बिहिबार गरिएको कारबाहीमा ती लडाकु मारिएका हुन् । कारबाहीमा अरू ११ जना लडाकु गम्भीर घाइते भएका छन् ।
सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाइले हवाइ कारबाहीमा लडाकु समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिनुभयो ।
बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।
अफगानिस्तानबाट अमेरिकी र नेटो फौज फिर्तीको अभियान चलिरहे पनि देशभित्र शृङ्खलाबद्ध हिंसात्मक घटनाहरू नियमित रूपमा भइरहेका छन् । (रासस–सिन्ह्वा)