काठमाडौं । गाजास्थित प्यालेस्टिनी अधिकारीहरूका अनुसार एक साताअगाडि इजरेलसँग लडाइँ सुरु भएयता आइतवार सबैभन्दा घातक दिन रह्यो । इजरेली हवाई हमलामा ४० जनाभन्दा धेरैको ज्यान गएको छ।
इजरेली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन्।
गाजास्थित प्यालेस्टिनी हमास लडाकुहरूविरुद्ध इजरेलको सैनिक कारबाही ‘पूर्ण शक्ति’का साथ जारी रहने इजरेली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले बताएका छन्। शान्ति बहाली गर्न जति समय आवश्यक हुन्छ त्यति समयसम्म कारबाही जारी राख्ने उनले चेतावनी दिएका छन्।
आइतवार संघर्ष सुरु भएयताकै सबभन्दा घातक दिन रह्यो। मध्यरातपश्चात् इजरेली हवाई हमलामा गाजाको व्यस्त सडक परेको थियो। त्यहाँ तीनवटा भवन भत्कँदा दर्जनौँको ज्यान गएको थियो।
हमासले राति नै दक्षिण इजरेलतर्फ कैयौँ रकेट प्रहार गरेको थियो। दिउँसो पनि हमला जारी रह्यो। दशौँ लाख इजरेलीहरू हमलाको साइरन बज्नासाथ घरको सुरक्षित कोठातिर दौडिएका थिए।
प्यालेस्टिनीहरूले पनि सावधानी अपनाउने कोसिस गरे। तर सघन बसोबास भएको गाजामा धेरैसँग अन्त जाने विकल्प थिएन।
इजरेलमा रहेकी नेपाली भन्छिन्ः ‘बंकरमा त्रासमा रात कटाइरहेका छौँ’
इजरेल र प्यालेस्टीनको उग्रवादी समूहबीच हवाई आक्रमण चर्किँदा इजरेलमा रहेका नेपालीहरूले त्रासमा बंकरमा रात कटाइरहेको अनुभव सुनाएका छन्। इजरेलमा गाजाबाट रकेट आक्रमण हुन थालेपछि आफ्ना पछिल्ला रात बंकरमा बितिरहेको त्यहाँ एक दशकदेखि कार्यरत बर्दियाकी जानुका घर्ती क्षेत्री बताउँछिन्।
इजरेल र प्यालेस्टीनी विद्रोहीहरू बीचको पछिल्लो आक्रमणको शृङ्खलालाई सन् २०१४ यताकै सबैभन्दा खराब हिंसा भनिएको छ।
गाजा नजिक इजरेलको दक्षिण क्षेत्रमा केअर गिभर रूपमा कार्यरत क्षेत्री जतासुकै खतराको अवस्था भएकाले छिनछिनमै डर लागिरहेको बताउँछिन्।
‘पहिला म सहरतिर थिएँ, यस्तो सुनिँदैन थियो। तर अहिले सीमा नजिकै छु र छिनछिनै विस्फोटनको आवाज सुनिएकाले डर लागिरहेको छ’ उनले भनिन्, ‘मैले हेरचाह गर्ने ८५–८६ वर्षकी आमा हुनुहुन्छ। उहाँलाई नुहाइदिँदै गर्दा चेतावनी दिने साइरन बज्यो अनि पड्कियो। म डरले पसिनै पसिना भएँ।’
आफू चार दिनदेखि बङ्करमा बसेको उल्लेख गर्दै उनले बाहिर निस्कने स्थिति नभएको बताइन्। घर्ती भन्छिन्, ‘गाजा क्षेत्र नजिकै भएकाले म काम गर्ने निजी घरभित्रै बङ्कर छ। हामी बङ्करमा नै सुत्ने र भान्सामा खाना बनाएर त्यही लगेर खाने गरिरहेका छौँ।’
घर्तीजस्ता झन्डै दुई हजार नेपाली वैधानिक रूपमा हाल इजरेलमा रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ। अरू करिब ८०० नेपाली गैरकानुनी रूपमा इजरेलमा बसिरहेको हुनसक्ने नेपाली अधिकारीहरू बताउँछन्।
तेल अभिभस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख अर्जुन घिमिरेले हालसम्म सबै नेपाली सकुशल नै रहेको उल्लेख गर्दै सावधानी अपनाउन भनिएको जानकारी दिए।
उनी भन्छन्, ‘हामी यहाँ भएका नेपालीहरूसँग निरन्तर सम्पर्कमा नै छौँ र राजदूतावासले उहाँहरूलाई सूचना पनि दिइरहेकै छ। अहिलेसम्म कतै पनि नेपालीहरूलाई समस्या नपरेको बुझिएको छ।’
उनले पछिल्लो द्वन्द्वबाट बढी प्रभावित दक्षिणी इजरेलमा कृषिसम्बन्धी अध्ययन र आयआर्जनका लागि लगभग डेढ सय विद्यार्थी आएको र उनीहरूको अवस्था पनि सुरक्षित रहेको जनकारी दिए।
घिमिरे भन्छन्, ‘त्रासमा हामी सबै छौँ किनभने चेतावनी दिने साइरन राति पनि दुई–तीन पटक सम्म बज्ने गर्छ। म पनि आफ्नो सानो छोरा च्यापेर साइरन बज्ने बित्तिकै सुरक्षित ठाउँतर्फ दौडिने गरेको छु।’
घिमिरेले इजरेलमा लगभग सबै घरमा त्यस्ता सुरक्षित बङ्कर हुने भन्दै उनले खतराको सङ्केत दिँदै साइरन बजेको डेढ मिनेटभित्र त्यहाँ गइसक्नुपर्ने बताए।
प्यालेस्टीनी विद्रोही र इजरेलबीचको पछिल्लो आक्रमणमा गाजा र इजरेलका लगभग सबै क्षेत्रमा हवाई आक्रमणहरू भइरहेका छन्। गाजातर्फबाट आफ्नो भूमिमा प्रहार हुने अधिकांश रकेट इजरेलको आफ्नो आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय तुल्याउने गरेको छ। उक्त प्रणालीका कारण रकेट भुइँमा खस्न नपाउने भएकाले इजरेलतर्फ मानवीय क्षति कम भएका विवरणहरू आएका छन्।
रकेट खस्ने अवस्थामा पनि बङ्करमा जान पूर्वचेतावनी दिने साइरन बज्ने भएकाले त्यसैअनुसार सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरिएको छ। बुधवार राजदूतावासले विज्ञप्ति जारी गर्दै जेरूसेलम र दक्षिण इजरेली क्षेत्रमा सयौँ रकेट आक्रमण भइरहेकाले सबैलाई त्रसित तुल्याएको जनाएको थियो।
नेपाली राजदूत अन्जान शाक्यद्वारा जारी गरिएको सन्देशमा सम्भव भएसम्मका सुरक्षा उपाय अपनाउन र साइरन बज्ने बित्तिकै बङ्कर, वा अन्य सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो।
तीन हजार भन्दाबढी रकेट प्रहार
प्यालिस्टिनी लडाकुहरूले तीन हजार वटाभन्दा बढी रकेट प्रहार गरेको इजरेलले बताएको छ । गाजाका अधिकारीहरूले भनेका छन्, ‘पछिल्ला इजरेली हवाई हमलामा परी १६ महिला र १० बालबालिकासहित ४२ जनाको ज्यान गएको छ।’
गत सोमवारयता इजरेलमा रकेट हमलाहरूमा परी १० जनाको ज्यान गएको इजरेलले बताएको छ। हालसम्म गाजामा कुल १९७ जनाको ज्यान गएको छ जसमा ५८ बालबालिका तथा ३४ महिला छन्।
बाह्र सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन्।
यसैबीच संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले युद्धविराम गराउनका निम्ति अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग आपत्कालीन बैठक गरेको छ। महासचिव एन्टोनियो गुटेरजले जारी हिंसा अत्यन्त चिन्ताजनक भन्दै तत्काल लडाइँ रोकिनुपर्ने बताएका छन्। (बीबीसी)





