काठमाडौं । भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सिमानास्थित गंगा नदीमा ४० शव फेला परेका छन् । कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने जनाएका छन् ।
कतिपय सञ्चारमाध्यमले एक सयवटा शव फेला परेको र तिनको अवस्था हेर्दा कैयौँ दिनदेखि ती नदीमा बगेको हुनसक्ने जनाएका छन्।
ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने आशंका गरिएको छ । अधिकारीहरूका अनुसार ती शव फुलेका छन् अनि केही जलेका पनि छन् ।
गङ्गा नदीको किनारमा शव जलाउने परम्पराअन्तर्गत ती त्यहाँ पुगेको हुनसक्ने बीबीसीले जनाएको छ ।
एकजना स्थानीय बासिन्दा चन्द्रमोहनले निजी अस्पतालहरूले लुट मच्चाएको अनि अन्तिम संस्कारका खर्च बढेकाले मानिसहरू नदीमा शव फाल्न बाध्य भएको बताए।
भारतमा कोभिड–१९ का कारण दुई लाख ४२ हजारभन्दा धेरै मानिसको ज्यान गएको आधिकारिक विवरण छन्।