जेरुसेलम । इजरायलमा बिहिबार राती आयोजित एक धार्मिक समारोहमा भागदौड मच्चिँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ ।
यहुदीहरूको नयाँ वर्ष मनाउन कम्तीमा एक लाख मानिस भेला भएका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यहुदी नयाँ वर्ष “लाग बाओमर” को पूर्वसन्ध्यामा हरेक वर्ष उत्तरी इजरायलको माउन्ट मेरोनमा ठुलो सङ्ख्यामा मानिस भेला हुने प्रचलन छ ।
इजरायली सञ्चार माध्यमको अनुमानअनुसार, करिब एक लाख मानिस उक्त समारोहमा सहभागी थिए, जसमा अति दक्षिणपन्थी यहुदीको सहभागिता बढी थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्विट गर्दै माउन्ट मेरोनमा निकै दुःखद घटना भएको र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु भन्नुभएको छ । उहाँले माउन्ट मेरोनमा उद्धार कार्यलाई तीव्र बनाउन आदेश दिइसकेको बताउनुभएको छ ।
इजरायली राष्ट्रपति रुभेन रिभलिनले पनि ट्विट गर्दै घाइतेको उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गर्नुभएको छ ।
सुरुमा उक्त दुःखद घटना मञ्च भत्किएर भएको अनुमान गरिए पनि इजरायली एम्बुलेन्स सेवा मागेन डेभिड एडोम (एमडिए) ले भिडका कारण उक्त दुर्घटना भएको बताएको छ । एमडिएले घाइतेहरूलाई उद्धार गरिएको र केहीलाई हेलिकप्टरबाट बाहिर निकालिएको जनाएको छ ।
घाइतेहरूलाई उत्तरी इजरायल र जेरुसलेममा भर्ना गरिएको छ ।
युनाइटेड हजलाह आपतकालीन स्वास्थ्य सेवाले आफ्ना संस्थाका स्वयम्सेवीले घटनास्थलबाट दर्जनौँ व्यक्तिलाई उद्धार गरेको जनाएको छ ।
सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
सरकारले कोरोना भाइरस फैलन नपाओस् भन्नका लागि खोप लगाएका, कोभिबाट सङ्क्रमणमुक्त भएका वा परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र माउन्ट मेरोनको भ्रमण गर्न अनुमति दिएको थियो । तर सरकारले अनुमति दिएको भन्दा धेरै व्यक्ति उक्त समारोहमा सहभागी भएका थिए । (रासस–सिन्ह्वा)





