काठमाडौं । कोभिड–१९ बाट आक्रान्त भारतमा यसविरुद्धको खोपको अभाव देखिन थालेको छ । भारतले कोभिड–१९ को दोस्रो घातक संक्रमण झेलिरहँदा अप्रिल १ यता दैनिक औसतमा ९० हजारभन्दा बढी कोरोनाभाइरस संक्रमण देखिन थालेका छन् । जसले भारतको खोप कार्यक्रममा समेत चुनौती थपिएको छ ।
बीबीसीका अनुसार केन्द्र सरकारले खोपको पर्याप्त मौज्दात रहेको बताइरहे तापनि आधा दर्जन जति राज्यबाट अभाव भएको विवरण आइरहेका छन् । पश्चिमी राज्य महाराष्ट्रमा भारतको कुल सङ्क्रमणको आधाजसो सङ्ख्या रहेको विवरण आइरहँदा खोप कार्यक्रम भने अनिश्चितकालका लागि रोकिए झैँ भएको छ ।
स्थानीय सरकारले हाल रहेको उसको पन्ध्र लाख मात्राको मौज्दातले तीन दिन मात्र थेग्ने जनाएको छ । राज्यको राजधानी मुम्बई र अन्य केही जिल्लाका खोप केन्द्रहरू बन्द गरिएका छन् ।
यता, संघीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले खोप अभावको आरोपुलाई पूरै निराधार बताउँछन् । उनले राज्यहरूले खोपसम्बन्धी आफ्ना कमजोर प्रयासबाट ध्यान मोड्नका लागि ‘निरन्तर गोलपोस्ट सारिरहेको’ आरोप लगाए ।
खोप अभावको आरोप लगाइरहेका राज्यहरूले अहिलेसम्म आफ्ना अग्रमोर्चाका कर्मचारीहरूलाई समेत खोप दिन नसकिरहेको संघीय स्वास्थ्यमन्त्री वर्धनले बताए।
विश्वकै सबैभन्दा ठूलो भारतको खोप कार्यक्रम जनवरी १६ मा सुरु गरिँदा जुलाईभित्रमा २५ करोडलाई खोप दिइने लक्ष्य राखिएको थियो । सुरुमा स्वास्थ्यकर्मी र अग्रमोर्चाका कर्मचारीमा सीमित गरिएको खोप पछि क्रमशः ६० वर्षमाथि, रोग भएका ४५ देखि ५९ वर्षबीचका र ४५ वर्ष माथिका व्यक्तिमा केन्द्रित गरियो ।
भारतमा दैनिक औसतमा ३० लाख मात्रा खोप दिने गरेको छ । भारतले अहिलेसम्म ८५ देशमा छ करोड ४० लाख मात्रा खोप पठाइसकेको छ ।
खोप उत्पादनको सवालमा भारतलाई ‘पावरहाउस’का रूपमा हेरिन्छ । त्यहाँ ठूला खोप कार्यक्रम सञ्चालन हुने मात्रै होइन विश्वको ६० प्रतिशत खोप उत्पादन हुन्छ । भारतमा छ खोप उत्पादक कम्पनीहरू छन् । तर कोभिड खोप कार्यक्रममा भने भारतले अनपेक्षित चुनौतीहरू सामना गरिरहेको छ ।