काठमाडौं । तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गरेका हुन् ।
मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए । बीबीसीका अनुसार विपक्षी नेताहरूले उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको दाबी गरे पनि त्यसको पुष्टि हुन सकेको छैन ।
गतसाता देशका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र राम्ररी काम गरिरहेको बताएका थिए ।
तान्जनियामा मगुफुलीको एकजना विवादित नेताको पहिचान थियो ।भ्रष्टाचारसँग जुझ्ने र उच्च सरकारी खर्च घटाउने कामका लागि उनको प्रशंसा हुनेगर्छ ।
तर विपक्षी नेता र सञ्चारमाध्यमहरूप्रति कडा व्यवहार गर्दै बढ्दो रूपमा निरङ्कुश चरित्र देखाएको भन्दै उनको आलोचना हुने गर्दथ्यो। मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । गत वर्षको एउटा विवादित चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।
तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकालमध्ये अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले निर्वाह गर्नेछन् ।





