काठमाडौं । इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त भएको ठानिएको क्षेत्र पत्ता लागेको बताएका छन्।
श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए। उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो।
विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका बीबीसीले जनाएको छ ।
विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन्। शनिवार राति खोजी र उद्धारका प्रयासलाई रोकिएको भए पनि आइतवार बिहानैबाट निरन्तरता दिइएको छ।
श्रीविजया एअरको उक्त विमान जकार्ता विमानस्थलबाट शनिवार दिउँसो स्थानीय समयानुसार १४ः३६ बजे उडेको थियो। यातायात मन्त्रालयका अनुसार त्यसको चार मिनेटपछि १४स्४० मा अन्तिम सम्पर्क भएको थियो।
जकार्ताबाट पश्चिमी बोर्नियो टापुस्थित पोन्टिआनक पुग्न सामान्यतया विमानमा ९० मिनेट लाग्छ।
राष्ट्रिय खोजी तथा उद्धार निकाय एअर मार्शल बागुस पुरुहितोका प्रमुखका अनुसार विमानले कुनै आपत् परेको सङ्केत पठाएको थिएन। उडानहरूको विवरण राख्ने वेबसाइट फ्लाइट राडा२४डट कमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमान आकाशबाट ३,००० मिटरभन्दा तल ओर्लिएको थियो।
प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन्।





