काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको बीबीसीले जनाएको छ ।
उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो । भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ । अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ ।
मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो । लगत्तै अग्नि नियन्त्रक अस्पताल पुगेका थिए। जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ। भण्डारा जिल्लाका प्रहरी अधिकारी बसन्त जाधवले उक्त घटनाबारे जाँचबुझ सुरु भएको बताएका छन्।
शल्य चिकित्सक प्रमोद खाण्डेतले समाचार पत्र टाइम्स अफ इण्डियालाई तीन–चार जना बच्चा जलेर मरेको बताएका छन् र बाँकीको अक्सिजन आपूर्ति रोकिएर भएको उनले बताए।
उनका अनुसार केही बच्चा अस्पतालमै जन्मिएका थिए र केही उपचारका लागि बाहिरबाट आएका थिए ।
टाइम्स अफ इण्डियाको खबर अनुसार झट्ट हेर्दा बिजुलीको तारमा आएको खराबीका कारण आगलागी भएको देखिएको छ । घटना हुँदा एक चिकित्सक र एक नर्स ड्यूटीमा थिए ।