श्यामलाल पोखरेल, बुटवल ।
केही समय अघि दुर्घटनामा निधन भएका पत्रकार डायलसन अधिकारीलाई मरणोपरान्त सम्मान गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ मा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले स्वर्गीय अधिकारीलाई सम्मान गरेको हो । शनिबार सम्पन्न संस्थाको २२ औं वार्षिक साधारण सभाका अवसरमा मृतक अधिकारीकी श्रीमती चन्दा अधिकारीलाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।
तिलोत्तमा नगरपालिका–३ का अधिकारीको गत साउन ३२ गते सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटनामा मृत्यु भएको थियो । तिलोत्तमा नगरपालिकाको काम लिएर पूर्व जाने क्रममा उहाँ चढेको बा १६ च २२३५ नम्बरको जीप पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ बक्साहामा दुर्घटना हुँदा अधिकारीको ज्यान गएको थियो ।
शनिबार सम्पन्न शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २२ औँ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी शुद्व खानेपानी वितरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले खानेपानी र सरसफाइमा उचित व्यवस्थापन गर्न सकिए मात्र पालिकाले अगाडि सारेको नाराले सार्थकता पाउने भन्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो ।
खानेपानी महासंघ रुपन्देहीका अध्यक्ष ध्रुवकुमार धितालले खानेपानीको डिमान चार्ज र कर छुट हुनुपर्ने र उपभोक्तालाई सहज रुपमा शुद्व पानी उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दधिराम गौतम, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संःथाका निर्वमान अध्यक्ष हरि तिवारी, शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरी, आनन्द वन खानेपानी तथा उपभोक्ता संघका अध्यक्ष केशव न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमाका नगर अध्यक्ष मोहन चापागाई, नेपाली कांग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डे, राष्ट्रिय जनमोर्चाका दयानिधी पौडेल, जनमुक्ति पार्टीका राधिका श्रीष, काशिराम, कमला अर्याल लगायतले आआफ्ना भनाइ राख्नुभएको थियो । संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता, सचिव कमला ज्ञवालीको सञ्चालन र उपाध्यक्ष डिलबहादुर भट्टराईको स्वागतमा कार्यक्रम भएको थियो ।

