खुम रायामाझी, कुवेत ।
कुवेतमा एक नेपाली युवाको मृत्यु भएको छ । कुवेतको अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद (राहदानी नम्बर ९१६३४७१) को १४ डिसेम्बर २०२० का दिन हृदयघातका कारण फर्वानिया अस्पतालमा मृत्यु भएको नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङले जानकारी दिनुभएको छ ।
डडेलधुराको अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्षपहिले कुवेत आएका थिए । उनले अल जजिरा कम्पनीमा ड्राइभर काम गर्दै आएका थिए। उनको घरमा श्रीमती, एक छोरा र एक छोरी छन् ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार डम्मरबहादुर साउदको मृत्यु भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको भन्दै उनको मृत्युको कारणबारे भने अस्पतालको रिपोर्ट बिना भन्न नमिल्ने बताउनु भयो । उहाँले एक दुई दिनभित्रैमा अस्पतालको रिपोर्ट आउने जानकारी दिनुभयो ।
मृतकको शव नेपाल पठाउनको लागि कानूनी प्रक्रियाका कामहरु अगाडि बढाई सकिएको छ । यद्यपी मृतकको परिवारसँग सम्पर्क हुन नसकेको हुँदा मृतकका परिवारको सम्पर्क नम्बर वा परिवारलाई चिन्नुहुने जो कसैले भएपनि दूतावाससँग सम्पर्क गराई सहयोग गरिदिनको लागि आग्रह गर्नु भएको छ ।