इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरूले लाहोरमा निकाल्ने भनेको जुलुस हालका लागि रोक्न आग्रह गरेका छन् ।
पाकिस्तानमा कोभिड–१९ को असर अझै धेरै मात्रामा देखिएकाले देशमा ठुलो सङ्ख्यामा जुलुस निकाल्दा यसबाट कोभिडको सङ्क्रमण बढ्ने भन्दै सो जुलुस ननिकाल्न आग्रह गरिएको हो ।
पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरू लागेका छन् । उनीहरूले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुस निकाल्ने तयारी गरेका छन् ।
यसअघिदेखि नै सरकारले सो नारा जुलुस र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक–पटक आग्रह गर्दै आएको यहाँका सञ्चार माध्यमले बताएका छन् । तर पनि विपक्षीले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरूलाई सार्वजनिक रूपमा यस्तो आग्रह गरेका हुन् ।
पाकिस्तानका अधिकारीहरूले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नुपरिरहेको बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेड कोरोना भाइरसका बिरामीलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् ।
अर्कातर्फ यहाँका विपक्षी राजनीतिक दलले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी राखेका छन् । (रासस/एएनआई)