काठमाडौं । कतार नेपाली एकता समाजले देशका विभिन्न भागमा राजतन्त्रको पुनर्स्थापना र हिन्दु राज्यको माग गर्दै राजावादीहरुको बढिरहेको सक्रियताप्रति ध्यानआकर्षित भएको जनाएको छ ।
समाजका अध्यक्ष विष्णु थापाक्षेत्रीले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी २०१७ पौष १ गते र २०६१ माघ १९ गतेका घटनाहरुको पुनरावृत्ति हुनसक्ने खतरा औँल्याउनुभएको छ । त्यसका विरुद्ध नेपाली जनताले पुनः लामो संघर्ष गर्नुपर्ने स्थितिको सिर्जना हुनसक्ने विज्ञप्तिमा उल्लेख छ ।
‘अहिले राजावादीहरुलाई वर्तमान सरकारका सबै गलत, जनविरोधी र भ्रष्ट नीति तथा क्रियाकलापहरुबाट जनतामा वर्तमान सरकारप्रति पैदा भएको असन्तोष र अविश्वासबाट आफ्ना गतिविधिहरु अगाडि बढाउन मद्दत पुगिरहेको कुरा बुझ्न गाह्रो पर्दैन’ विज्ञप्तिमा भनिएको छ, ‘निश्चय नै वर्तमान सरकारका सबै गलत, जनविरोधी र भ्रष्ट नीतिहरुका विरुद्ध जनताले दृढतापूर्वक र सम्झौताहीन प्रकारले संघर्ष गर्नुपर्दछ ।’
अध्यक्ष थापाले राजावादीहरुबाट राष्ट्रियताको रक्षा नहुने स्पष्ट पार्दै गणतन्त्र र राष्ट्रियताको रक्षासँगै संघीयता खारेजीका लागि एकजुट हुन विश्वभरका नेपालीहरुलाई अपिल गर्नुभएको छ ।