काठमाडौं । कतारले २१ औं एसियाली खेलकुद आयोजनाका लागि सहयोग माग्न कतारी टोली नेपाल आएको छ । कतार ओलम्पिक कमिटीको टोली नेपालसँग समर्थन माग्न काठमाडौं आएको हो ।
कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो ।
कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ । हालसम्म कतार र साउदी अरेबियाले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् ।
नेपालले पनि ती दुई मध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ । नेपालसँगै ४५ देशहरुले मतदान गर्नेछन् । कतारमा एसियन खेलकुद आयोजना हुँदा नेपाली खेलाडीले पनि राम्रो समर्थन पाउने र खेलाडीको मनोबल बढ्ने भन्दै कतार ओलम्पिक कमिटीले नेपालको समर्थन खोजेको हो। यस अघि २००६ मा एसियन खेलकुद आयोजना गरेको कतारले २०२२ को विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।