काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अनलाइन मिडियालाई अन्य मिडियासरह सेवासुविधा उपलब्ध गराउन माग गरेको छ । महासङ्घको यही मङ्सिर १२ र १३ गते धादिङमा सम्पन्न बैठकले अनलाइन सञ्चारमाध्यमले मूलधारको पत्रकारितामा स्थान बनाउँदै गएको सन्दर्भमा अनलाइन मिडियालाई अन्य मिडियासरह सेवासुविधा उपलब्ध गराउन माग गर्ने निर्णय गरेको महासङ्घले जनाएको छ ।
बैठकले श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाका लागि महासङ्घले सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउँदै संवाद, दबाब आन्दोलन र कानुनी उपचारमार्फत् प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।
महासङ्घले श्रम समस्या देखिएका तीन वटा सञ्चारगृहमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन पहिलो चरणको आन्दोलनस्वरूप सम्बद्ध सञ्चारगृहमा धर्ना दिँदासमेत माग पूरा नभएको सन्दर्भमा तत्काल माग सम्बोधन नभए दश दिनपछि दोस्रो चरणको आन्दोलनस्वरूप सम्बद्ध सञ्चारगृहका सञ्चालकको निवासमा धर्नासहितका कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।
त्यसैगरी गम्भीर श्रम समस्या देखिएका अन्य मिडिया हाउसमा पनि क्रमशः दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
महासङ्घले कोभिड महामारीका कारण बेरोजगार भएका तथा दबाबपूर्ण बिदामा राखिएका पत्रकारलाई सहयोग गर्न तत्काल पत्रकार कल्याणकारी कोष स्थापनाका लागि पहल गर्ने भएको छ ।
पत्रकारहरूका लागि लेखनवृत्तिको व्यवस्था गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय गरिएको छ ।
यसैगरी ६० वर्ष नाघेका र २५ वर्षभन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेका ज्येष्ठ सञ्चारकर्मीहरूलाई विशेष कोभिड राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।