तिलक राना, हैदराबाद ।
भारतको हैदरावादमा अलपत्र परेकी एक नेपाली महिलालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उद्धार गरि स्वदेश पठाएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–७ भुर्तुङकी रिता बिकलाई मूल प्रवाहले स्वदेश पठाएको हो ।
हाल हैदराबाद स्थित सापुर नगरमा बस्दै आएका भबिन्द्र नेपालीले आफ्नी श्रीमति रिता बिक र ११ महिनाकी छोरीलाई छाडेर अलपत्र पारी अर्कै महिला लिएर भागेको भागेपछि आमा छोरी अलपत्र परेका थिए ।
सो सम्बन्धी जानकारी मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समितिमा प्राप्त हुनासाथ समितिका सचिवालय सदस्य घनश्याम शर्मा, सल्लाहकार सदस्य सूर्य बहादुर थापा र सापुर नगर एरिया समितिका सदस्य प्रताप शर्माको प्रतिनिधि टोलीले पीडित महिलालाई भेट गरी घटनाको जानकारी लिएको थियो ।
कोठामा नत खाने खर्च नत साथमा पैसा नै भएकोले अति दयनीय अवस्था र जटिल समस्या रहेको सो प्रतिनिधि टोलीले क्षेत्रीय समितिमा रिपोर्ट दिएको थियो ।
यस्तो विषम परिस्थितिमा रिता बिकलाई स्वदेश पठाउने बाहेक अरु विकल्प नभएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिद्वारा संचालित सापुरनगर एरिया समितिको पहलमा पाँच हजार नौ सय रुपैयाँ चन्दा संकलन गरि अलपत्र परेको पत्र सहित हैदराबाददेखि बुटवलसम्म जाने बसमा उनीहरुलाई स्वदेश पठाइएको छ ।
हैदराबाददेखि बुटवलसम्म बस ब्यबसायिक अशोकले किराया नलिई बुटवलसम्म पुराउन सहयोग गर्नुभएको मूल प्रवाहले जनाएको छ ।

