गोबिन्द विष्ट, क्वालालम्पुर (मलेसिया) ।
नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाएको थियो ।
‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । सम्भवतः भ्याक्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने ।
वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा १ सय ३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार पूर्व र अन्तिम स्वीकृति लिइसकेका झन्डै ३५ हजार नेपाली श्रमिक मलेसियाका लागि प्रतिक्षारत छन् ।
नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको मलेसियामा करिब ५ लाख नेपाली कामदार कार्यरत छन् । मलेसियाले विभिन्न देशबाट श्रमिकहरु लैजाने गर्दछ तर नेपालीहरुको मिहिनेत र विश्वसनीयताका कारण नेपाली कामदारको माग बढी हुने गर्दछ ।
नेपाल जस्तै हावापानी भएको मुलुक मलेसिया नेपाली युवाहरुको लागि पनि आकर्षक श्रम गन्तब्य हो । तर, कोरोनाको असरका कारणले मलेसियामा रोजगारी गुम्दै जाने अवस्था छ ।
यसबाहेक सरकारले श्रमिकलाई अनावश्यक आर्थिक भार पारेको भन्दै बायोमेट्रिक, भिएलएन, माइग्राम्स, जिएसजी, ओएसीजस्ता संस्थालाई बन्द गरि कारबाहीको दायरामा ल्याएपछि लामो समयसम्म मलेसिया जाने क्रम बन्द भएकोमा पछिल्लो समय पुनः राजगारी खुलेको हो ।