मिनबहादुर राना
हुन त सिकेर कहिल्यै सकिँदैन । सानैमा सारङ्गी बजाउन सिकेँ । अचेल सारङ्गी पनि सहर पसेको छ । गाउँमा ताता समाचार र नयाँ भाका एफएम तथा टिभीले पुर्याउँछन् । सारङ्गी कतिसम्म दुर्लभ भएछ भने मान्छेहरू सारङ्गी देखेर छक्क पर्छन् । यस आलेखमा मैले सारङ्गी बोकर हिँड्दाका सम्झना प्रस्तुत गर्दै छु ।
सारङ्गी बजाउने भोक किन जाग्यो ? म आफै अचम्ममा पर्छु । आमाले छोरो गाइने हुने भयो भनेर मेरो सारङ्गी कहिले अगेनामा जलाइदिने, कहिले फाल्दिने गर्नुहुन्थ्यो । आज मुढा काटेर ताछ्न सुरु गरेँ भने अर्को दिन त बजाउन मिल्ने बनाइहाल्थेँ । आफूलाई बजाउन मन लागेपछि त मैले रातमा पनि बत्ती बालेर मुडा ट्वाकट्वाक र ठ्याकठ्याक पार्न थाल्थेँ । बनाउँदै जाँदा हेर्दै रहरलाग्दा सारङ्गी पनि बनाउन सक्ने भएँ ।
५ कक्षामा पढ्दाको कुरा हो । बागलुङको हुग्दिशिर मादल बनाउन जाँदा सातदोबाटोमा बास बस्नुपर्ने भयो । त्यहाँ नरेन्द्र पुनको घडी पसल थियो । उनको पसलमा अति राम्रो सारङ्गी झुण्ड्याइएको थियो । नरेन्द्र पुन हेर्दै ठाडै निल्ला झैँ थिए : लामा लामा कपाल पालेका, कालो अग्लो र जिउ लागेको । हामीले सारङ्गी बजाउन भन्नै सकेनौँ । धेरै बेर त्यही पसलमा बसेको देखेर होला, उनले सारङ्गी झिकेर बजाउन सुरु गरे । सुरिलो आवाजमा गीत गाएर सुनाए । बजाएको देखेर मैले उनलाई हिमालय युवा परिवारको कार्यक्रममा पनि बोलाउन लगाएँ । हाम्रा दाइहरूले मान्नुभयो । उनी आएर शिवरात्रीको यौटा कार्यक्रममा खुब रमाइलो गरे । त्यति बेलै मैले उनको सारङ्गी हातले नापेँ र पछि यौटा सारङ्गी बनाएर बजाउन सुरु गरेँ ।
मैले सारङ्गी बजाउन सिक्ने बेलामा एक जना गाइने दाइले मलाई सिकाउन धेरै मिहिनेत गरेका थिए । उनको आँखा कमजोर थियो । आँखामा ट्रकोमा लागेको थियो । बाटोमा हिँड्दा आँखा छोपेर हिँड्थे । मैले दिउँसो एक एक हाफ् सुकुटी र लोक्कल खुलाइदिन्थेँ र भन्थेँ– दिउँसोभरि जता गए पनि साँझ मेरोमा बस्न आउनुहोला । जब साँझ गाइने आउँथे, हाम्रो अखण्ड गानाबजाना चल्थ्यो । उनको गीत हृदयबाट गाइएको हुन्थ्यो । उनको गीत हाम्रो मनमा फूलजस्तै सुन्दर भएर बस्थे । उनले गाएको सुन्दा त क्यासेटका गीत गीतजस्ता नै हुँदैनथे । ‘यसको साथी पनि कस्ता कस्ता हुन्छन् ? जोगी, गाइने, पागल र माग्नेको त यसको सङ्गत छ । गतिलो मान्छे हो र यो ? आफू त सुत्दैन सुत्दैन, हामीलाई पनि सुत्न दिँदैन’ भन्दै हाम्रो बा खुब गाली गर्थे । उनै गाइने दाइले सारङ्गीको तार मिलाउन सिकाए । तार मिलेपछि त बजाउन सजिलै हुने रहेछ ।
यति बेला ती वन चरी, ती मन कवि, आँखाका रोगी मेरा गुरु ! कता छन् होला ? यति बेला उनलाई भेट्न सके मैले उनको आँखाको उपचारका लागि अभियान नै चलाउँथे होला । उनको आँखा सन्चो पार्न सके कति ठुलो गुरुभेटी हुँदो हो ।
कुनै जमाना यस्तो थियो । हातमा मोबाइल लिएर हिँड्नु पनि ठुलै मानिन्थ्यो । पहाडतिर जिएसएम सिमले काम गर्दैनथ्यो, सिडिएमए सिमले मात्र कतै कतै काम गथ्र्यो । त्यसैले दुई वटा मोबाइल बोक्नुपर्ने बाध्यता थियो । सुनौलीबाट सामान किनेर फर्कने बेलामा एक जना गाइने दाइ म चढेको बसमा चढेर गीत फलाक्न थाले । फलाक्दाफलाक्दै उनले पैसा माग्न थाले । पैसा दिने पालो मेरो आयो । मलाई सारङ्गीको गजोले छुँदै गीत गाउन थाले । मैले ‘दाइ, म पनि गाइने हो । एउटा जोगीले अर्को जोगीलाई भिक्षा दिएको कहिलै देख्याछौ ?’ भनेँ ।

गाइने दाइले जिस्किए झ¹ मानेछन् क्यारे, पत्याएनन् । एउटा त्यस्तै त्यति बेला त्यत्ति नचलेको तर राम्रो गीत गाउन भनेँ । कस्ता गीत कस्ता ठाउँमा गाउन बजाउन गाह्रो हुन्छ भनेर ख्याल गरेर त्यस्तै खोँचे थापेर गाउँदै बजाउँदै हिँड्ने मान्छे म । नचलेको गीत त प्रायः ले सुन्न पनि भ्याएका हुँदैनन् भन्ने थाहा थियो । उनले पनि सुनेका रै’नछन्, अलमलिए । ‘मैले बाजी जित्दै छु’ भन्ने लाग्यो । उनीसित सारङ्गी मागेर बजाउँदै त्यही उनले नजानेको गीत मैले गाउन थालेँ र गाइने दाइलाई ‘ल पैसा उठाउनुस्’ भनेँ । एक छिन मेरो ताल हेरेर बिचरा गाइने दाइ आफ्नो सारङ्गी मेरो हातबाट खोसेर बसबाट झरे । यसरी जिस्कँदा कसैको पेटमा लात पर्ला भन्ने नसोचेकोमा पछि सम्झेर मलाई ग्लानी भयो ।
एक दिन म कतै कार्यक्रममा जान तयार भएर निस्किएको थिएँ । साथीले मलाई लिन आउन ढिला गरे । म आफ्नो डेरा बस्ने घरको पेटीमा बसेर समय कटाउने बाटो सारङ्गी बजाउँदै गीत गाउन थालेँ । केही टिपटप सोल्टाहरू पर पुग्दासम्म मलाई हेर्दै गए । अर्को चोकमा गएर एक जना अङ्कलसित कस्तो ह्यान्डसम गाइने आएको रहेछ भनेछन् । अङ्कल मलाई राम्रारी चिनेकै मान्छे पर्नुभएछ । त्यस दिनदेखि अङ्कलले मलाई जहिले पनि ‘हयान्डसम गाइने’ भनेर हैरान ।
तिहारको बेला थियो । भैलो खेल्दै हामी गुल्मीको मसरा गाउँमा पुगेका थियौँ । भैलो हेर्नेहरूको ठुलै भिड जम्मा भएको थियो । त्यति बेला माओवादी भनेर उभिन सक्ने मान्छे गाउँमा ठुलै मानिन्थ्यो । हामीसित अलिकता मतभेद पनि भएकाले माओवादी साथीहरूले हामीलाई हेर्ने दृष्टिकोण अर्कै थियो । मैले सारङ्गी बोकेको देखेर एक जना माओवादीको टोलस्तरीय नेताले ‘ल, सारङगी बजा, म नाच्छु’ भन्दै झम्केझोलको पारा देखाए । मैले केही नभनेर एउटा त्यस्तै मच्चिँदै नाच्न नमिल्ने गीत बजाएँ । उनले ‘होइन अर्को बजा’ भन्न थाले । ‘हजुरलाई नाच्न नआउँदो रै’छ’ मैले जिस्कँदै भनेँ ।
ज्या त्यसपछि पो उनको चटक हेर्नलायक भयो त ! हुँदा हुँदा उनी त मसित बाजी राख्न तयार भए । दर्शकले पनि उनलाई उल्काए । म पनि आफ्नो दाउ हेर्दै थिएँ । कुरैकुरामा दश हजारको बाजी राखियो । मैले सर्त राखेँ, तीन वटा गीत बजाउँछु, त्यसमा नाच्न नसके मेरो जित । उनले पनि हुन्छ भनेर पाखुरा सुर्काउँदै कस्सिए । दर्शक सबैलाई साक्षी राखेर मैले सुरुमा मैले झलकमान बाजेको ‘आमैले सोध्लिन्…’ गाएँ । उनले अर्को बजा भने । त्यसपछि मैले लक्ष्मण रायमाझी दाइको ‘नमुछे आमा दहीमा टीका…’ गाएँ । नेताजीले त्यो पनि भएन भने । अब अन्तिममा मैले ‘बर्खायाम एक दिन…’ भन्ने कर्खा भाकाको कविता गाइदिएँ । उनी त्यसमा पनि नाच्न सकेनन् । हिसाबअनुसार मेरो जित भयो । उनी पैसा दिन राजी भएनन् । झ्याली भयो भन्न थाले ।
अब के गर्ने ? मैले सबै दर्शकसित हात फिँजाएँ– ‘लौ हजुर, यो गाइनेलाई तिहारको बेलामा पनि बाजी जितेको पैसा दिएनन् । मैले हारेको भए यहाँ मलाई कस्तरी नाङ्गेझार पारिन्थ्यो । मेरो खल्ती च्यातिन्थ्यो । लौ विष्ट हो, मलाई न्याय दिलाउनुहोस् । पाल्ने पनि हजुरहरू नै हो, फाल्ने पनि हजुरहरू नै हुनुहुन्छ । मेरो त तिहार नै अँध्यारो हुने भयो…’ यस्तै भन्दै मैले विलाप गर्न थालेँ । भेला भएका सबैले ‘हारेपछि त जित्नेलाई जितौरे दिनै त प¥यो नि त नेताज्यू’ भन्न थाले । नेताज्यू हायलकायल भए । कुरो के रै’छ भने उनीसित दश हजार रुपियाँ नै रै’नछ । गोजीबाट चार हजार निकालेर मेरो गोजीमा राखिदिँदै त्यहाँबाट भागे । एकै पटकमा चार हजार झरेको र हामीलाई अवरोध गर्न खोज्ने मान्छे हारेर भागेकोमा साथीहरू खुसी हुनुभयो ।
पछि थाहा भयो, कामरेड साँच्चिकैका रसिला र कसिला कामरेड रहेछन् । मात्र तिहारको रौनकमा भेटिएर मात्र रहेछ । उनका क्रान्तिकारी कहानी पनि धेरै रमाइला छन् । कुनै बेला पस्का¹ला । उनलाई म नेताकै हैसियतमा सम्मान गर्छु ।
क्रान्तिमा लागेका मान्छे, युद्धकालको बेला थियो । तिहारको बेला आर्थिकले कसलाई कहिले पो पुगेको छ र ? जति क्रान्तिकारी भए पनि छिमेकको घरबाट अनेक ब्यञ्जनको वासना आउँदा बालबच्चाले ‘हामी क्रान्तिकारी हौँ’ भनेर नखाएर बस्न मान्दैनन् । तिहार मनाउने पैसा त्यत्ति थियो होला । पछि उनको बारेमा कुरा हुँदा उनीबाट त्यो पैसा नलिएको भए हुन्थ्यो भन्ने लाग्यो । उनका छोराछोरीको तिहारको चिचिचिउरा खोसिदिएकोमा सारै पछुतो भयो ।
एक दिन म कार्यक्रममा जान सारङ्गी बोकेर गाडीमा जाँदै थिएँ । गाडीमा हिँड्दा प्रायः पढ्ने बानी छ मेरो । सधैँ झैँ मैले झोलाबाट किताब झिकेर पढ्न थालेँ । मैले उत्तर कोरियाली योद्दा री इन मो जीवनीको किताब दोहो¥याएर पढ्दै थिएँ । गाडीका साहु उर्फ कन्टेक्टर आएर पहिला त उनले वरिपरिका अरु यात्रुसित भाडा मागे । मैले उनले नमाग्दै पाँच सयको नोट झिकेँ । आफू पुग्ने ठाउँ बताउँदै त्यो नोट उनको हातमा राखिदिएँ । उनले फिर्ता गर्ने सुर गरेनन् । ‘फर्काइहाल्लान् नि !’ भनेर म पढ्न मै व्यस्त हुन थालेँ । केही पछि साहु उर्फ कन्टेक्टरले मेरो फिर्ता गर्नुपर्ने पैसा दिए, मैले लिएँ र गोजीमा राख¸ । एक्कासी उनले मलाई ब्यङ्ग्य गर्न थाले ।
साहु : (हकार्ने हिसाबले) के हुन्छ किताब पढेर ? किन पढ्नुप¥यो किताब ?
म : … … …
मैले उनको कुरा सुने पनि नसुने झेँ गरेर किताबमै आँखा गाडिरहेँ । उनको फुर्ती पनि हेर्नलायक थियो । त्यसैले उनले त्यो पारा जारी राखुन भन्ने मेरो चाहना थियो ।
साहु : (मेरो हातबाट किताब तान्दै) के छ यसमा ? खै हामी पनि पढम् त ’ राम्रा राम्रा तरुनीको साप्रा देखाएको फोटो भएको किताब छैन ?
म : (मेरो पारा तातेर आयो अनायसै) तपाईंको यो बसलाई कति पर्छ ?
साहु : (सहजै) बाइस लाख पाए आजै बैना गरिदिन्छु ।
म : हुन त यसको छ रुपियाँ मूल्य लेखेको छ; तर बाइस होइन, पचास लाख हालेर पनि यो किताब तपाईंले बजारमा पाउनुहुन्न । तपाईंको जस्ता थोत्रा गाडी त खोल्साखाल्सीमा पनि पाइन्छ । (रिस उठेपछिको पारा त हो नि) अनि, तपाईंको छोरा छ ?
साहु : छ । पढ्दै छ ।
म : स्कुल कि क्याम्पस ?
साहू : स्कुल होइन । क्याम्पस पढ्छ ।
म : उसले पनि क्याम्पसमा त्यस्तै तरुनीले साप्रा देखाएको फोटो छापिएको किताब पढ्छ ?
साहु : त्यो अकै कुरा हो ।
म : के अर्कै कुरा ? म पनि त तपाईंको छोराजस्तै त हो नि ? तपाईंको छोराले त्यस्तै किताब खोज्दै हिँड्न थाल्यो भने तपाईंलाई कस्तो होला ? मैले पढ्दा तपाईंको यत्रो टाउकोदुखाइ किन ? मैले पढ्नै नहुने ? तपाईंको छोराले मात्र पढ्नुपर्ने ? तपाईंले अहिलेसम्म जीवनमा कुनै किताब पूरै पढ्नुभएको छ ? कुनै एक पाठ दोहो¥याएर पढ्नुभएको छ ? दश मिनेट कुनै बौद्धिक भाषण सुन्नुभएको छ ? (साहु चुपचाप थिए । मेरो पारा अझै तात्दै गयो ।) बिहान–बिहान आउने धार्मिक कार्यक्रम राम्ररी सुन्नुभएको छ ? साहु भएर पनि खलासी त्यसै बन्नुभएको छ त ? म तपाईंले सोचेको जस्तो मान्छे होइन । विचार गरेर बोल्नुहोला । अर्काको किताब तान्न आउने होइन । पैसा पाउनुभयो, हाम्रो हिसाब मिल्यो,अब समयमै ठेगानमा पु¥याउनुस् । कुरा पनि सकियो । ढोकामा गएर बस्ने, आफ्नो काम गर्ने, आफ्नो मानो खाने मर्ने, र जाने । किन अर्कासित किचकिच ?

उनी फेरि बोल्न आए । मलाई नरिसाउन भने । परिचय गर्न खोजे । खाना खाने ठाउँमा उनले भाइको खानाको पैसा म मिलाउँछु भन्दै थिए, मैले मानिनँ । उनले आफूले पाउने केकेमा मैले खाएको खानाको हिसाब पनि मिलाएछन् । साहुले मेरो पैसा समात्नै मानेनन् ।
एक पटक म लिम्घातिरबाट उकालो हिँडेर मसिनामा मावल बाजेको घरमा पसेर घर जाने सुरमा थिएँ । उकालो हिँडेको थकाइ लागेको थियो । मसिनाको दहबाट यस्सो तल झरेपछि पानीको धारो आउँछ । त्यही धारोमा पुग्दा एक जना बजैले पानी भर्दै थिइन् । डोकोमा भरीगाग्रो बोक्नै लाग्दा म पानी पिएर निस्कनुपर्ने भयो । मैले ‘खै खै बजै छोइएला ! जे भा पनि म त आफ्नो धर्ममा बस्न रुचाउँछु । आफ्नो ठाउँमा बसे आफ्नो धर्म त कता जान्छ र ? फेरि छोइएला… …’ भन¸ । बिचरा बजैले नसकी–नसकी छिटो छिटो पानी भरिएको गाग्रोसहितको डोको बोकेर मतिर फर्किइन् र खुसी हुँदै भनिन्– ‘छ्या बरा, कसको छोरा होला ? कति जाती रैछ है ।’ म मनमनै हाँस्दै मेरा मावल बाजे पाँचहाते राहाडीको घरमा पुगेँ । हाँसो खटाउन नसकेर त्यही कुरा बाजेसित भनेँ ।
‘तँलाई मरेको स्याल, बजैलाई सजिलो गरी पानी बोकाएर पठाउन छाडेर गाइने हुँ भन्दै झुक्याएर आइस् ? खुब गरिछस् । नसक्ने हुँदा कस्तो हुन्छ, थाहा पाउने दिन पनि आउँछ तेरो, त्यति बेला चाल पाउलास्, केको त्यस्तो कुरामा पनि ठट्टा गरेर हिँड्छस् ?’ भनेर हकारे ।
साँच्ची मैले त बुढीमान्छेलाई सहयोग गर्नुपर्नेमा झनै अत्याएछु । त्यत्रो भरीगाग्री कतै बोक्ने बेलामा हतार गर्दा लडेको भए कत्रो नास हुन्थ्यो ? नाती भोकाएर आएको छ भनेर बज्यैले जौको आटो र आलु र ठोट्नेको साँग पकाएर खान दिइन् । खाना खाँदा पनि मैले बुढाबुढीले दुःख गरेर उब्जाएको भन्ने लागेर खानै सकिनँ ।
यौटा मगरको छोरो सारङ्गी बोकेर हिँड्ने । मान्छेले गाइने आयो भनेर त्यस्तै व्यवहार पनि गरे । आफन्त र छिमेकी मैले सारङ्गी सिक्दाका क्याँ क्याँ सुनेर कति वाक्क भए । उनीहरूले भनेको कुरा सबै त म भन्न सक्दिनँ । यौटा छिमेकी बुढाले ‘कवि हुँ भन्छ, दुनियाँको गण्डकी जम्मा गर्छ । आफू त बौलायो–बौलायो, हाम्लाई समेत शान्त बस्न दिएन (हातले नराम्रो कुराको इसारा गर्दै) इस् तेरो कविता, यौटाले सबै गर्छु भनेर पनि हुन्छ । पहिला–पहिला बिहान–बिहान भट्याएर हैरान पाथ्र्याे । (स्कुले जीवनमा बिहान–बिहान राम्रा कविता सबैले सुन्ने गरी पढ्ने गथर्¸ ।) अचेल सारङ्गीको क्यारक्यारले हैरान छ ।’
झम्केझोलको झोँकमा भनेजस्तो गरेर मलाई गाली गर्थे । कतिसम्म भने पनि यौटा कार्यक्रममा दौरा–सुरवाल लगाएर सारङ्गी बोकेर जाँदा कोही गायक साथी खिसी गरेर हो या किन हो, मलाई हेरेर बेसरी हाँसे । मादल, गिटार वा अरू बाजा बोकेर गएको भए उनी त्यसरी हाँस्दैनथे होला । हाम्रा कलाकारमा पनि सारङ्गी बोक्दा र बजाउँदा सानो भइन्छ भन्ने भावना हराउन सकेको छैन । कुनै ठाउँमा मान्छेको घरमा केही नभनेर पिँढीमा बसेर सारङ्गी बजाउँदा दान दिनुपर्छ भनेर भित्रबाट बाहिर नै ननिस्केको पनि धेरै सम्झना छ ।
एक दिन म तिजको कार्यक्रममा बुटवल बहुमुखीमा सारङ्गी र मादल बोकेर गएँ । माइक नपुगेपछि सारङ्गी बजाइएन । मञ्चमा सारगी राखेर म मान्छेको भिडमा स्वयम्सेवक टिमसित काममा लागेँ । कार्यक्रम सकिएपछि त मेरो सारङ्गी हराएछ । कसैले खोज्ने वास्ता नै गरेनन्; मानौँ, मेरो सारङ्गी त कुनै सामान नै होइनजस्तो गराए । केही पाखण्डमा रमाउने साथीले मलाई उल्टै घोचपेच गरे । हाम्रा केही साथीमा अरूको मर्म बुझ्ने क्षमता नै छैन । आफ्नो भए त फेरि कसो गर्छन् ! धेरैपछि त्यो सारङ्गी एक जनाले बसपार्कमा बोकेर हिँडेको देखेँ ।
कति सम्झना लेखमा समेट्दा आफ्नो गनगन थोपरे झैँ होला, त्यसैले यत्ति लेखेँ ।

