पुष्कर भट्ट/महेन्द्रनगर ।।
दसैँमा घर गएका सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव नवराज ऐर र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रमुख भूपेन्द्र विष्टबिच कुटाकुट भएको छ । बुधबार राति कञ्चनपुरको महेन्द्रनगरस्थित मेघा होटलमा रक्सी खाने क्रममा कुटाकुट भएको हो ।
क्याम्पस प्रमुख विष्टका अनुसार ऐरले उनको औँला टोकेर दुई टुक्रा पारिदिएका छन् । ऐरको समूहले आफूलाई षड्यन्त्रपूर्वक होटलमा बोलाएर कुटपिट गरेको क्याम्पस प्रमुख विष्टले बताए ।
‘मलाई लोकेन्द्र जोशीको मोबाइलबाट फोन आयो । एकैछिन आउनुपर्यो सर नवराजजीले बोलाएका छन् भनेर बोलाए । त्यहाँ पुगेपछि मलाई रक्सी खान कर गरे’ प्रमुख विष्टले युगदर्शनसँग भने– ‘तर मैले एन्टिबायोटिक खाँदै छु, रक्सी खान्न भन्नासाथ ममाथि आक्रमण गरे । नवराजले मेरो औँला नै टोकिदिएका छन् ।’
सभामुख सापकोटाका स्वकीय सचिव ऐर शुक्लाफाँटा नगरपालिका–१, बन्साहका हुन् भने जोशी महेन्द्रनगरको एक विद्यालयका शिक्षक हुन् ।
क्याम्पस प्रमुख विष्टसँग भनाभन भएको ऐरले स्वीकार गरे । तर कुटपिट नगरेको उनले दाबी गरेका छन् ।
उनले भने– ‘सामान्य बाझाबाझ मात्रै भएको हो । कुटपिट भएको छैन । घटना समान्य हो ।’
यता, विष्टलाई फोन गरेर बोलाउने लोकेन्द्र जोशीले भने आफू घटनामा सामेल नभएको दाबी गरे ।
‘म त्यहाँ गएकै होइन, भूपेन्द्र सरलाई कसरी फोन गर्नु ?’ जोशीले भने– ‘मेरो नाम नलेख्दिनुहोला ।’
झगडा हुँदा घाइते भएका दुवै जना महाकाली अस्पतालमा उपचारपछि बुधवार राति नै घर फर्किएका छन् ।
रक्सीले मात्तिएको अवस्थामा सभामुखका स्वकीय सचिव ऐर र प्रिन्सिपल विष्टबिच झगडा भएको खुलेको प्रहरीले बताएको छ । तर, अहिलेसम्म कसैले उजुरी नगरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।