धनगढी । कैलालीमा एक भारतीयले नेपाली नागरिकता बनाउन एक लाख रुपैयाँ दिएर नक्कली बुवा बनाएको खुलासा भएको छ । धनगढी उपमहानगरपालिका–१२ का पुनिराम चौधरीले भारतीय नागरिक अलियास अन्सारीबाट एक लाख रुपैयाँ लिएर आफ्नो परिवारको सदस्य बनाएका हुन् ।
अन्सारीले नक्कली बुवा खडा गरी बंशजको आधारमा नेपाली नागरिकता लिएका छन् । भारतीय नागरिक अन्सारीले चौधरी परिवारलाई १ लाख रुपैयाँ दिएर आफ्नो परिवारका नक्कली सदस्य बनाएर नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्सारीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी, दाजु बनेका खुसीराम चौधरी र भाउजू बनेकी गीता चौधरी रहेका छन् ।
वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन्।
नक्कली बुवा बन्ने पुनिराम चौधरी फरार छन् । उनको खोजी भइरहेको र पक्राउ परेका तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

