काठमाडौँ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार देशभरमा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ९१५ पुगेको हो ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो ।
उहाँका अनुसार आज देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ९१५ रहेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा १५ हजार ४८ रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १५ हजार ५७७ पिसिआर परीक्षण भएको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ७८ हजार ७८० पुगेको छ ।
काठमाडौँ उपत्यकामा थपिए २१ सय २९ संक्रमित
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार १२९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले उपत्यकाका तीन जिल्लामा थप २ हजार १२९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।
प्रवक्ता गौतमका अनुसार उपत्यका काठमाडौँमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा कोरोना पुष्टि भएको हो ।
मृत्यु हुनेको संख्या ६६३ पुग्यो
नेपालमा कोरोना सङ्क्रमणबाट थप १८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६६३ पुगेको छ।