काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ । संक्रामक रोग ऐन अनुसार ६ महिनाको जेल सजाय हुने मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो ।
यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उहाँले बताउनुभयो ।
दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैँ तिहारमा आशिर्वाद लिन उहाँले आग्रह गर्नुभयो ।
शुक्रबारको नियमित प्रेस ब्रिफ्रिङका क्रममा मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख नाघेको जानकारी दिएको छ ।
आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । यस्तै, देशभरी सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ भने शुक्रबार थप १० जनाको मृत्यु भएपछि ज्यान गुमाउने संख्या ६०० पुगेको मन्त्रालयले जनाएको छ ।