काठमाडौं । हङकङमा प्रदर्शनका क्रममा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भएका छन् । प्रत्यक्ष प्रजातन्त्रको माग गर्दै प्रदर्शनकारीहरूले लगातार १७ औँ हप्ता प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन गरिएको पाँच वर्ष पुगेको अवसरमा दशौँ हजार प्रदर्शनकारी शनिवार हङ्कङको संसद्नजिकै भेला भएका थिए ।
प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।
जवाफमा केही प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै पेट्रोल बम हानेका थिए ।
यसअघि शनिवार बिहान सन् २०१४ को आन्दोलनका अगुवामध्येका नेता जोस्अ वाङ्कले आउँदो हङ्कङको संसदीय चुनावमा आफू उठ्ने घोषणा गरेका थिए ।
सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो ।
हङ्कङ सन् १९९७ यता ‘एक देश, दुई प्रणाली’ अन्तर्गत चीनको अङ्ग रहिआएको छ । त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्य भूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ ।
तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङ्कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन् । बीबीसी