काठमाडौं । नागरिक समाजका अगुवाहरुले सरकारले डा. गोविन्द केसीको सत्याग्रहप्रति बेवास्ता गरेर बेइमानी गरेको बताएका छन् । ११ जना नागरिक अगुवाहरुले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी डा. केसीप्रति ऐक्यवद्धता प्रकट गर्दै उहाँका जायज माग अविलम्ब पुरा गर्न अपिल गरेका छन् ।
डा.पिताम्वर सर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा.महेश मास्के, डा. अरुणा उप्रेती, नारायण ढकाल, बिमल निभा, डा.सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धन कुमारी सुनार र कोमल भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा डा. केसीको मागप्रति वेवास्ता गरेर सरकारले आफ्नै चुनावी घोषणापत्रप्रतिसमेत बेइमानी गरेको बताएका छन् ।
‘विगत तीन हप्ताभन्दा बढी समयदेखि देशको चिकित्सा शिक्षा र स्वास्थ्यसेवासम्बन्धी मागहरु राखेर डा. गोविन्द केसी आमरण अनशनमा हुनुहुन्छ । यी मागहरु समाजवादउन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारका लागि मार्गदर्शक र प्रेरणादायी हुने हामीले अपेक्षा राखेका थियौँ’ विज्ञप्तिमा भनिएको छ, ‘तर विडम्वना ! डा. केसीका मागहरुप्रति सरकार पूर्णतः उदासीन रहेको छ ।
सरकारले यस किसिमको अकर्ममण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको सस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रतिसमेत बेइमानी गरेको हामीले ठानेका छौँ ।’